मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
पन्ध्रौं महाधिवेशनमा बाजुरा प्रदेश ‘क’ को सभापतिमा अधिकारी उमेदवार


बाजुरा, १२ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि बाजुरा जिल्ला क्षेत्रीय प्रदेश ‘क’ को सभापति पदमा जयबहादुर अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय अधिकारीले क्षेत्रीय सङ्गठनलाई थप सुदृढ र गतिशील बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका हुन्।
अधिकारीको राजनीतिक तथा सामाजिक यात्रा २०४५ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को विद्यार्थी राजनीतिबाट सुरु भएको थियो। २०४५ देखि २०४९ सम्म नेविसङ्घको नेताका रूपमा सक्रिय रहेका उनी २०४९ सालमा नेपाली सेनामा प्रवेश गरेका थिए। सैन्य सेवामा कार्यरत रहँदा पनि उनी सिंहदरबार क्षेत्र र काठमाडौँमा रहेका बाजुरेली नागरिकहरूलाई सहजीकरण र सहयोग गर्न निरन्तर खटिएका थिए।
२०७२ सालमा नेपाली सेनाको जागिर छोडेर उनी पुनः नेपाली कांग्रेसको सक्रिय राजनीतिमा फर्किएका हुन्। त्यसपछि निरन्तर जनताको घरदैलोमा पुगेर सामाजिक कार्यमा सक्रिय रहेका अधिकारी देशमा सङ्घीयता लागू भएपछि २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।
त्यस्तै, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी बाजुरा क्षेत्रीय प्रदेश ‘क’ को उपसभापति पदमा निर्वाचित भएका थिए। कार्यसमितिमा उपसभापतिको जिम्मेवारी सम्हाल्दै गर्दा परिस्थितिवश उनले ४ वर्षसम्म कार्यवाहक सभापतिको रूपमा सफलतापूर्वक संगठन चलाएका थिए। उनी हाल नेपाली सेना भूतपूर्व सैनिक सङ्घ बाजुरा जिल्ला अध्यक्षको जिम्मेवारीमा समेत कार्यरत छन्।
विद्यार्थी राजनीति, सैन्य सेवा, वडा अध्यक्ष र कांग्रेसको प्रदेश ‘क’ को कार्यवाहक सभापति भई काम गरिसकेको लामो अनुभवका आधारमा आफूले १५ औं महाधिवेशनमा सभापति पदमा दाबी प्रस्तुत गरेको अधिकारीले बताएका छन्।





















