Opens in a new tab

समाचार

सुस्ताका बाढी प्रभावित समुदायलाई राहत सामग्री हस्तान्तरण

नवलपुर टुडे
२०८३ अशोज १२ | मध्यान्ह ०६:०६ बजे

नवलपरासी, असोज १२ । पछिल्ला केही दिनयता देशका विभिन्न भागमा आएको अविरल वर्षा, बाढी र पहिरोले सयौँ परिवारलाई गहिरो पीडा दिएको छ। यसैबीच, नारायणी नदीको बाढीबाट प्रभावित पश्चिम नवलपरासीको सुस्ताका नागरिकका लागि कारीतास नेपालको आर्थिक सहयोग तथा इन्द्रेणी सामाजिक विकास मञ्चको सहजीकरणमा सुस्ता गाउँपालिकामार्फत तत्काल आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा संघीय सांसद विक्रम खनालले बाढी प्रभावितहरूको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गर्दै राहत वितरणमा योगदान पुर्‍याउने संस्थाहरूप्रति आभार प्रकट गर्नुभयो। “यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल आवश्यक सहायता पुर्‍याउनु हामी सबैको दायित्व हो,” उहाँले बताउनुभयो, “मेरो अनुरोधलाई सहर्ष स्वीकार गरी प्रभावित क्षेत्रसम्म राहत सामग्री पुर्‍याउन आर्थिक सहयोग गर्ने कारीतास नेपाल र सहजीकरण गर्ने इन्द्रेणी सामाजिक विकास मञ्चलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। विपद्को यस घडीमा पीडित परिवारको शीघ्र, सुरक्षित पुनर्स्थापनाका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

त्यसैगरी, सहजीकरण गर्ने संस्था इन्द्रेणी सामाजिक विकास मञ्चकी उपाध्यक्ष धनमती सापकोटाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित क्षेत्रमा राहत पुर्‍याउन पाउँदा संस्था गौरवान्वित भएको बताउनुभयो। “विपद्‌मा परेका समुदायलाई प्रत्यक्ष राहत पुर्‍याउनु हाम्रो प्रमुख प्राथमिकता हो,” उहाँले भन्नुभयो, “स्थानीय जनप्रतिनिधि र गाउँपालिकासँगको समन्वयमा वास्तविक पीडितहरूसम्म राहत सामग्री पुर्‍याउन सकिएकोमा सहयोगदाता संस्था नारीता नेपाल र स्थानीय तहप्रति कृतज्ञता व्यक्त गर्दछौँ।”

यसै क्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्यले राहत सामग्री वितरण प्रक्रिया र संस्थाको आगामी योजनाबारे स्पष्ट पार्नुभयो। उहाँले बताउनुभयो, “सुस्ताका बाढी प्रभावित परिवारको तात्कालिक आवश्यकतालाई ध्यानमा राखेर हामीले यो राहत सहयोग सहजीकरण गरेका हौँ। आगामी दिनमा पनि प्रभावित समुदायको पुनर्स्थापना र जीविकोपार्जनमा आवश्यक समन्वय गर्न संस्था प्रतिबद्ध छ।”

यस्तै, राहत सामग्री ग्रहण गर्दै सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन रेग्मीले राहत हस्तान्तरणप्रति धन्यवाद व्यक्त गर्नुभयो। “बाढीका कारण प्रभावित बनेका हाम्रा नागरिकहरूका लागि प्राप्त भएको यो सहायता अत्यन्तै समयसापेक्ष र राहतदायी छ,” उहाँले भन्नुभयो, “गाउँपालिकाको तर्फबाट प्राप्त राहत सामग्रीलाई पूर्ण पारदर्शिताका साथ वास्तविक बाढी प्रभावित परिवारसम्म व्यवस्थित रूपमा वितरण गरिनेछ।”

कमेन्टहरु