Opens in a new tab

समाचार

टिमुरे बाढीमा यातायात सम्बद्ध ४४१ जना सम्पर्कविहीन

रासस
२०८३ अशोज ९ | बिहान ०७:०६ बजे

काठमाडौ‌ै । रसुवाको टिमुरेमा गत भदौ १० गते गएको बाढीले ३३८ ट्रक तथा कन्टेनर बगाएको विवरण सार्वजनिक भएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका छन् ।

भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा विभागले सरकारी तथा गैरसरकारी निकाय, निजी सङ्घसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्यांक माग गरेको थियो । विभागले यही असोज २ गते सूचना जारी गर्दै सात दिनभित्र क्षतिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।

विभागको उक्त आग्रहपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले यही असोज ५ गते विभागलाई प्रारम्भिक क्षतिको विवरण पठाएको हो । महासंघले विभिन्न संघ, समिति तथा कम्पनीबाट संकलन गरेको विवरण विभागलाई उपलब्ध गराएको जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ १० गतेको बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति हुँदा मालवाहक सवारीसाधन तथा त्यसमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन भएको बताए ।  यातायात व्यवस्था विभागले क्षतिको यकिन विवरण संकलन गर्न आग्रह गरेपछि महासंघले सदस्य संस्थाबाट प्राप्त विवरण संकलन गरी पठाएको जानकारी दिए ।

विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि लोकन्थलीका २१७ ट्रक तथा कन्टेनर र २५१ चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् । यस्तै नारायणी यातायात व्यवसायी संघ हेटौँडाका ५८ ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी संघ सिमराका २१ सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी संघ नेपाल, बल्खुका १० कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
त्यसैगरी गण्डकी ट्रक व्यवसायी संघ पोखराका २१ ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका ११ कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासंघले जनाएको छ । नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार थप विवरण संकलन हुने क्रम जारी रहेकाले बगेका सवारीसाधन तथा सम्पर्कविहीन व्यक्तिको सङ्ख्या अझै बढ्न सक्नेछ ।

कमेन्टहरु