फ्लाई दुबई ११३ यात्रु लिएर पोखरा अवतरण


पोखरा । फ्लाई दुबईको जहाजले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ६ बजेर १९ मिनेट जाँदा पोखरामा ल्याण्ड गरेको हो। विमानमा १ सय १३ जना यात्रु आएका छन्।
फ्लाई दुबईका अनुसार विभिन्न देशबाट दुबई हुँदै उनीहरू पोखरा आएका हुन्। पोखरामा जहाजलाई स्वागत गर्न व्यवसायी र सर्वसाधारणको ठुलो भिड लागेको छ। पोखरामा ल्याण्ड भएको जहाज १ घण्टापछि पुनः दुबईका लागि उड्नेछ। पोखराबाट १ सय ५३ जना उड्ने छन्। तीमध्ये केही बिजनेस क्लासमा चढ्ने यात्रुहरू पनि छन्।
जहाजमा १ सय ६६ सिट क्षमता छ । १० सिटमा बिजनेस र १ सय ५६ जनाको इकोनोमी क्लासका सिट छन् । पोखराका लागि यो महत्त्वपूर्ण कोशेढुंगा भएको पोखराका मेयर धनराज आचार्यले बताए। निकै लामो समयको तयारी पछि फ्लाई दुबईले नियमित उडानको तालिका बनाएको हो।
पोखराका व्यवसायीहरूले जहाजको नियमित उडान हुन सके पोखरेली पर्यटन क्षेत्रले ठुलो फड्को मार्ने जनाएका छन्।






















