आगजनीका बाबजुद भूमि प्रशासन कार्यालय बाँकेद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन


बाँके । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२/८३ मा रु ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजात नष्ट भएपछि हाल विद्युतरोडस्थित भाडाको भवनबाट सेवा सञ्चालन भइरहेको छ।
भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम तथा पूर्जा बिक्री र अन्य शीर्षकबाट गरी कुल रु ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख सन्तोष विकले बताए। उनका अनुसार गत आवमा सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट रु ३७ करोड ४० लाख ९९ हजार ६०७ राजस्व सङ्कलन भएको छ।
कार्यालयले गत आवमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ। जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज र संशोधनलगायतका कामसँगै यस कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी एवं व्यवस्थित बनाउँदै सेवा प्रवाह र राजस्व सङ्कलनको कामलाई निरन्तरता दिइएको विकले जानकारी दिए।
भूमि प्रशासन कार्यालयले प्रदर्शनका क्रममा आगजनीबाट नष्ट भएका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपूर्जाको स्रेस्तासमेत पुनः कायम गरेको छ। विभागको अनलाइन प्रणालीमा समस्या आएबाहेक अन्य समयमा सेवाग्राहीको काममा ढिलासुस्ती नहुने गरी सेवा प्रवाह गर्न आफूहरू लागिपरेको दाबी कार्यालय प्रमुख विकले गरे।






















