Opens in a new tab

आगामी तीन दिनमा यी स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने

नवलपुर टुडे

29Shares

सारांश

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान जारी गरेको छ । बुधबार बिहान जारी गरिएको उक्त पूर्वानुमानमा आगामी तीन दिनमा केही स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने जानकारी दिइएको छ ।

महाशाखाका अनुसार, बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति कोसी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग, वाग्मती प्रदेशको पहाडी र तराई  भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी  प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । कोसी र वाग्मती प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ । बिहीबार राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार, शुक्रबार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । शुक्रबार राति देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।