जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम


ललितपुर । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउँदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.खगेश्वर गेलालले वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्याङ्कन गरिएको जानकारी दिए ।
कार्यक्रममा जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए । त्यस अवसरमा सहभागी अस्पतालले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क प्रस्तुतका साथै वार्षिक सेवा प्रवाहको समीक्षा गरिएको थियो ।
किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिषेक थापाका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन तथा तथ्यमा आधारित सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको प्रयासको महत्वपूर्ण मान्यता प्राप्त भएको प्रतिक्रिया दिए ।
उक्त उपलब्धिले स्वास्थ्य सेवा क्षेत्रमा अस्पतालको प्रतिबद्धता र कार्यसम्पादनलाई थप सुदृढ बनाएको उनले बताए । अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता छ ।
विसं. २०६२ देखि ग्वार्कोमा किष्ट शिक्षण अस्पतालका रुपमा सञ्चालनमा छ । उक्त अस्पतालले जटिल तथा गम्भीर स्वास्थ्यका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, उन्नत प्रविधि तथा आधुनिक उपचार सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।






















