बाढीपीडितको पुनःस्थापनाका लागि सबै निकायसँग सहकार्य गरिरहेका छाैँ : सञ्चारमन्त्री


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर अघि बढिरहेको बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधिमण्डलले साेमबार मन्त्रालयमा गरेको भेटवार्ताका क्रममा उनले बाढी प्रभावितको पुनःस्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्। सञ्चारमन्त्री तिमिल्सिनाले बाढी प्रभावितका समस्यालाई हेरेर उनीहरूको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाइएको जानकारी गराए।
उनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि विभिन्न निकायबाट छुट्टाछुट्टै रूपमा काम गर्नुभन्दा एकीकृत ढङ्गले अघि बढाउँदा उपलब्धि प्रभावकारी हुने बताए। कुनै एक निकायले पुनर्निर्माणको नेतृत्वदायी भूमिका लिने र अन्य सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग परिचालन गर्ने गरी काम गर्दा चाँडो नतिजा प्राप्त हुने भएकाले सोहिअनुसार सरकारले काम गर्न खोजेको पनि सञ्चारमन्त्री तिमिल्सिनाले बताए।
एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टीका), महासचिव डा. चिरञ्जीवी खड्का, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार रावतलगायतका पदाधिकारी तथा सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँगको भेटवार्तामा सरकारले भोटेकोशी बाढी प्रभावितका लागि गरिरहेको काम र त्यसमा एनआरएनएले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो । सो अवसरमा एनआरएनएले पुनःस्थापना तथा पुनर्निर्माणका काममा सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको जनाएको छ ।






















