बाढीपछिको खोज तथा उद्धार कार्य जारी छ : गृहसचिव शर्मा


काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको बताएका छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा शर्माले विशेष गरी जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धार कार्यलाई जारी राखेको उनको भनाइ छ ।
“विशेष गरी हाइड्रोपावरको सुरुङहरूमा टनेलहरूमा बस्नुभएकोहरूमा खोज तथा उद्धारको कार्य भइरहेको छ,” शर्माले भने ।
कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको शर्माको भनाइ छ । अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको उनले जानकारी दिए ।
“कतिपय टेक्नोलोजी हामीसँग भएन, विषम परिस्थिति थियो, भौगोलिक अवस्था गाह्रो थियो, विशेष गरी अन्य देशबाट आएका खोज उद्धारका विज्ञहरूले पनि त्यहाँको भूगोल देखिसकेपछि साच्चै गाह्रो रहेछ भन्ने कुराहरू भन्नुभएको छ । त्यसकारण खोज र उद्धार कार्यमा अलि ढिलो भयो,” शर्माले भने ।
सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको शर्माले बताए । खोज तथा उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणको काम अगाडि बढाउने उनको भनाइ छ ।
“अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ । यसपछि विस्तारै राहतमा जान्छौँ,” शर्माले भने, “त्यसपछि पुनर्स्थापना र पुनर्निर्माणको कामहरूको हुन्छन् ।”
बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षणमा स्थानीय तहसँग समन्वय भइरहेको उनले बताए । बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनको भनाइ छ ।
उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको शर्माले बताए । हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर विचलन वा थप समस्या नदेखिएको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल






















