मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
झोलामा औषधि बोकेर घरमै उपचार सेवा दिन्छन्: स्वास्थ्यकर्मी बुढा


बाजुरा, असोज ४ । बाजुराको बुढिनन्दा नगरपालिका–५ स्थित कोटीला स्वास्थ्य चौकीका इन्चार्ज अर्जुन बुढा अचेल हातमा औषधिको झोला बोकेर गाउँका कुनाकाप्चा र घरदैलोमा धाइरहेका भेटिन्छन्। गाउँमा अचानक भाइरल ज्वरोको प्रकोप फैलिएपछि हिँडेर स्वास्थ्य संस्थासम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्तहरूका लागि उनी आफैं घरमै पुगेर उपचार सेवा प्रदान गरिरहेका छन्।
पछिल्लो समय गाउँमा भाइरल ज्वरोका बिरामीहरूको संख्या तीव्र रूपमा बढेको छ। सामान्य तथा हिँडेर आउन सक्ने बिरामीहरूको स्वास्थ्य चौकीमै उपचार भइरहेको भए पनि स्वास्थ्य संस्थासम्म पहुँच पुग्न नसक्ने ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि दुई दिने विशेष ‘गाउँघर क्लिनिक सेवा’ सञ्चालन गरिएको इन्चार्ज बुढाले जानकारी दिए। “ज्येष्ठ नागरिकहरूलाई बिरामी पर्दा हिँडेर अस्पतालसम्म आउन निकै सास्ती हुन्छ,” उनले भने, “त्यसैले गाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र औषधि वितरण गर्ने प्रबन्ध मिलाएका हौं।”
गाउँमै स्वास्थ्यकर्मी औषधिको झोला लिएर दैलोमा पुगेपछि स्थानीयबासी खुसी र राहत महसुस गरिरहेका छन्। ६५ वर्षीय स्थानीय सुरविर लवारले भाइरल ज्वरोले थलिएको बेला घरमै पाएको सेवाप्रति आभार व्यक्त गरे। “भाइरल ज्वरो आएपछि जीउ काप्ने र अलिकति पनि हिँड्नै नसकिने अवस्था थियो,” लवारले भने, “अघिपछि बिरामी पर्दा सकिनसकी घस्रिएर स्वास्थ्य चौकी जानुपर्थ्यो।
तर यसपालि गाउँमै स्वास्थ्यकर्मी आएर जाँच्ने र औषधि दिने गरेपछि ठूलो राहत मिल्यो।” गाउँका धेरैजसो नागरिक एकैपटक भाइरल ज्वरोबाट थलिएपछि कोटीला स्वास्थ्य चौकीले अपनाएको यो तदारुकता र घरदैलो सेवाको चौतर्फी प्रशंसा भइरहेको छ। भौगोलिक विकटता र गरिबीका कारण सामान्य उपचारबाट समेत वञ्चित हुनुपर्ने बाध्यता रहेको यस क्षेत्रमा स्वास्थ्यकर्मी आफैं घरदैलोमा पुग्दा ज्येष्ठ नागरिकहरूले राज्यको उपस्थिति महसुस गरेका छन्।






















