देश

लुम्बिनी विश्वकै साझा धरोहर हो : मन्त्री पौडेल

नवलपुर टुडे
२०८३ अशोज २ | मध्यान्ह ०४:०६ बजे

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी कुनै देशको सीमाभित्र मात्र सीमित सम्पदा नभई विश्वकै साझा आध्यात्मिक तथा सांस्कृतिक धरोहर भएकाले यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

‘धरोहर, तीर्थयात्रा र विकासः समावेशी वृद्धि तथा दिगो विकासको प्रवद्र्धन’ विषयमा आयोजित तीनदिने सम्मेलनमा मन्त्री पौडेलले विश्व बैंकसँगको साझेदारीमा बृहत्तर लुम्बिनी क्षेत्र विकास पहलमार्फत लुम्बिनीको सम्पदा संरक्षण र विकासलाई व्यावहारिक कार्यमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको उल्लेख गरे।

मन्त्री पौडेलले सम्पदा संवेदनशील योजना, तीर्थयात्री तथा आगन्तुकका लागि गुणस्तरीय सुविधा, सुधारिएको कनेक्टिभिटी, वातावरणीय दिगोपना, ध्यान तथा कल्याणका अवसर र स्थानीय समुदाय तथा युवाका लागि रोजगारी एवं आर्थिक अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

“लुम्बिनीको विकास गर्दा यसको सम्पदा मूल्यलाई सम्मान गर्नुपर्छ,” उनले भने, “यसका लागि युनेस्को, विश्व सम्पदा समिति तथा सम्बन्धित प्राविधिक विज्ञहरूको सिफारिसलाई मार्गदर्शनका रूपमा लिनुपर्छ ।”

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले लुम्बिनीको विकास, व्यवस्थापन, संरक्षण र प्रवद्र्धनमा कोषको महत्वपूर्ण संस्थागत भूमिका रहेको बताए। कोषको लामो अनुभव, संस्थागत ज्ञान र स्थापित साझेदारीलाई बृहत्तर लुम्बिनी क्षेत्र विकासको पहलमा उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री पौडेलले बौद्ध समुदाय र स्थानीय जनताको आकाङ्क्षालाई विकासको केन्द्रमा राख्नुपर्नेमा जोड दिए।

कमेन्टहरु