चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो


काठमाडाैँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ । ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा करिब एक शताब्दीमा एक पटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने वैज्ञानिकहरूले अनुमान गरेका छन्।
नासाका अनुसार सन् २०२४ को वसन्तमा चन्द्रमासँग ठोक्किएको धूमकेतु वा क्षुद्रग्रहका कारण क्रेटर बनेको हो । तीनदेखि छ तले भवनजत्रो वस्तु ठोक्किँदा बनेको अनुमान गरिएको यो क्रेटर नासाको लुनार रिकोनिसन्स अर्बिटर (एलआरओ) का अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नयाँ तस्बिर तथा स्क्यान अध्ययन गर्ने क्रममा पत्ता लगाएका हुन्।
वैज्ञानिकहरूका अनुसार हालै बनेको क्रेटरको अध्ययनबाट चन्द्रमाको भूगर्भीय संरचना र क्रेटर निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सकिनेछ। यसले भविष्यका चालकदलसहितका चन्द्र अभियानको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। संयुक्त राज्य अमेरिका र चीन दुवैले चन्द्रमामा मानव अभियान सञ्चालन गर्ने योजना अघि बढाइरहेका छन्।
पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नभएकाले चन्द्रमामा अन्तरिक्षबाट आउने धूमकेतु, क्षुद्रग्रह वा अन्य भग्नावशेष उच्च गतिमै सतहमा ठोक्किन्छन्। त्यसैले त्यहाँ यस्ता प्रभावबाट नयाँ क्रेटर बन्ने गर्छन्।






















