चीनद्वारा समुद्रबाट एकैपटक ९ उपग्रह प्रक्षेपण, बन्यो नयाँ कीर्तिमान


बेइजिङ । चीनले समुद्रबाट एकैपटक नौवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाउँदै समुद्री प्रक्षेपणतर्फ नयाँ कीर्तिमान कायम गरेको छ ।
बुधबार पूर्वी चीनको सांघाई तटबाट समुद्री क्षेत्रमा रहेको मोबाइल प्रक्षेपण केन्द्रबाट ग्राभिटी–१ वाई३ रकेट प्रक्षेपण गरिएको थियो । ओरियनस्पेसले विकास गरेको उक्त रकेटले ‘क्यानफान कन्स्टेलेसन’का आठ उपग्रह र अर्को एउटा ‘ईयूएचटी’ प्रविधि परीक्षण उपग्रहलाई निर्धारित कक्षमा सफलतापूर्वक पुर्याएको हो ।
- पेलोड र कक्ष उचाइमा चीनकै नयाँ रेकर्ड
यस प्रक्षेपणले एकै समुद्री प्रक्षेपणबाट पठाइएको सबैभन्दा भारी पेलोड र सबैभन्दा उच्च कक्ष उचाइका लागि चीनमा नयाँ रेकर्ड कायम गरेको छ । मिसनमा पठाइएको कुल उपयोगी पेलोडको तौल ३ टनभन्दा बढी रहेको थियो भने उपग्रहहरूलाई करिब ८०० किलोमिटर उचाइको कक्षमा स्थापित गरिएको थियो ।
यसले समुद्री प्रक्षेपण प्रणाली मध्यमदेखि ठुलो आकारका उपग्रह पेलोड बोक्न सक्षम रहेको देखाएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
- ६.५ टनसम्म पेलोड बोक्न सक्ने ग्राभिटी–१
ग्राभिटी–१ ठोस इन्धन प्रयोग गर्ने रकेट हो । यसले निम्न पृथ्वी कक्षमा अधिकतम ६.५ टनसम्मको पेलोड लैजान सक्ने क्षमता राख्छ । बुधबारको प्रक्षेपण यो रकेटको समुद्रमा टाढासम्म गएर गरिएको दोस्रो मोबाइल तथा समुद्री प्रक्षेपण हो । अघिल्लो मिसनको ५६ दिनपछि नै यो प्रक्षेपण गरिएको हो ।
लगातारको समुद्री प्रक्षेपणमार्फत रकेटले उच्च तापक्रम, उच्च आर्द्रता तथा समुद्री नुनयुक्त हावाको वातावरणमा सञ्चालन गर्न सक्ने क्षमता पुनः परीक्षण गरेको र यसको विश्वसनीयता पुष्टि भएको चिनियाँ पक्षको भनाइ छ ।
- ग्राभिटी–२ को तयारी तीव्र
ओरियनस्पेसले पुनःप्रयोग गर्न सकिने ठुलो आकारको तरल इन्धनयुक्त ग्राभिटी–२ रकेटको विकासलाई पनि तीव्र बनाएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ग्राभिटी–२ को पहिलो प्रक्षेपण चाँडै हुने अपेक्षा गरिएको छ । उक्त रकेटले निम्न पृथ्वी कक्षमा २१.५ टनसम्मको पेलोड पुर्याउन सक्ने क्षमता राख्ने बताइएको छ ।
नयाँ रकेटको विकाससँगै चीनले समुद्री प्रक्षेपण र ठुलो आकारका उपग्रह सञ्जाल निर्माणका लागि आफ्नो प्रक्षेपण क्षमता थप विस्तार गर्ने प्रयास गरिरहेको छ ।





















