दुई कुकी महिलाको हत्यापछि मणिपुरमा तनाव, काङ्पोकपीमा रातभर गोली हानाहान


इम्फाल । भारतको मणिपुरमा दुई कुकी महिलाको हत्या भएको केही घण्टापछि काङ्पोकपी जिल्लाको एक पहाडी गाउँमा संदिग्ध उग्रवादीले आक्रमण गरेका छन्। घटनापछि क्षेत्रमा तनाव बढेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
अधिकारीहरूका अनुसार मङ्गलबार राति करिब १०ः३० बजे आधुनिक हतियारसहित ठूलो सङ्ख्यामा आएका संदिग्ध उग्रवादीले काङ्पोकपी जिल्लाको चावाङकिनिङ नागा गाउँमा आक्रमण गरेका थिए। गाउँनजिकै तैनाथ सेन्ट्रल रिजर्भ पोलिस बल (सीआरपीएफ) ले जवाफी फायरिङ गरेपछि उनीहरूलाई गाउँभित्र प्रवेश गर्नबाट रोकिएको बताइएको छ। राति करिब १०ः३० बजेदेखि बुधबार बिहान ४ः३० बजेसम्म करिब ६ घण्टा रुक-रुकमा गोलीहानाहान भएको अधिकारीहरूले बताएका छन्। गोलीहानाहानका क्रममा गाउँको सीमामा रहेका काठका दुई घरमा आगलागी भएको छ।
चावाङकिनिङ नागा गाउँमा भएको आक्रमणभन्दा केही घण्टाअघि तामेङ्लोङ जिल्लाको लेइसाङफाई क्षेत्रमा दुई कुकी महिलाको गोली हानी हत्या गरिएको थियो। त्यस घटनापछि मणिपुरमा फेरि सामुदायिक तनाव बढ्ने चिन्ता देखिएको छ। कुकी समुदायका प्रतिनिधिहरूले महिलाको हत्याको निन्दा गरेका छन्। काङ्पोकपी जिल्लाको साइकोल निर्वाचन क्षेत्रकी कुकी विधायकले मृतकमध्ये एक जनाले हालै नर्सिङको पढाइ पूरा गरेको बताउँदै घटनालाई निर्दोष महिलामाथिको हिंसाका रूपमा निन्दा गरिन्। उनले हत्यामा एनएससीएन-आईएम र जुफ-केका सदस्य संलग्न रहेको आरोप लगाएकी छन्। यद्यपि यी आरोपबारे स्वतन्त्र पुष्टि भने भएको छैन।
वरिष्ठ नागा नेता तथा नागा पिपुल्स फ्रन्टका विधायक अवाङ्बोउ न्युमाईले चावाङकिनिङमा भएको आक्रमण र घर जलाइएको घटनाको निन्दा गरेका छन्। उनले कुनै पनि समुदायविरुद्ध गरिने हिंसात्मक गतिविधिले कसैको हित नगर्ने बताए। उनका अनुसार यस्ता हिंसात्मक गतिविधिले समस्या समाधान गर्नुको सट्टा समुदायबीचको तनाव थप बढाउन सक्छ।
रातभर गोलीहानाहान भएपछि गाउँमा सीआरपीएफको सुरक्षा उपस्थिति कायम राखिएको छ। सुरक्षाकर्मीले संदिग्ध आक्रमणकारीलाई गाउँभित्र प्रवेश गर्नबाट रोकेको अधिकारीहरूको भनाइ छ। घटनाका कारण चावाङकिनिङ नागा गाउँ र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। दुई घर जले पनि रातभर भएको गोलीहानाहानमा अन्य मानवीय क्षतिको विवरण भने अधिकारीहरूले तत्काल सार्वजनिक गरेका छैनन्। मणिपुरमा विगतदेखि नै विभिन्न समुदायबीच हिंसात्मक तनाव रहँदै आएको अवस्थामा पछिल्ला घटनाले फेरि सुरक्षा चुनौती बढाएको छ।





















