अफ–सिजनमा फुजी हिमाल चढ्नेलाई उद्धार शुल्क तिराउँदै जापान


टोकियो । जापानले अफ–सिजन अर्थात् मुख्य आरोहण समयबाहिर फुजी हिमाल चढ्ने आरोहीलाई उद्धार शुल्क पनि तिराउने भएको छ । यो शुल्क सबैलाई तिराइनेछैन ।
अफ–सिजनमा हिमाल चढ्दा हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था आएमा आगामी वर्षदेखि आरोहीलाई त्यसको शुल्क बेहोर्न लगाइने भएको हो । फुजी हिमालको उत्तरी भागको व्यवस्थापन गर्ने यामानाशी प्रिफेक्चरले लापरवाही तथा पर्याप्त तयारीबिना हिमाल चढ्न निरुत्साहित गर्न नयाँ उपाय ल्याउन लागेको हो ।
उद्धार शुल्क निर्धारण गर्दा छिमेकी साइतामा प्रिफेक्चरमा अन्य हिमाली क्षेत्रमा लागू रहेको शुल्कलाई आधार मानिनेछ । त्यहाँ प्रति पाँच मिनेटको ८ हजार येन (झन्डै ५१ अमेरिकी डलर) शुल्क लिने व्यवस्था छ । अफ–सिजनमा फुजी चढ्न चाहने व्यक्तिले विस्तृत आरोहण योजना पनि बुझाउनुपर्ने व्यवस्था पनि गर्न लागिएको छ । फुजीमा सेप्टेम्बरको सुरुदेखि अर्को वर्षको जुलाईसम्मको अवधिलाई अफ–सिजन मानिन्छ ।
यामानाशीका गभर्नर कोतारो नागासाकीले सोमबार सर्वसाधारणलाई अफ–सिजनमा आरोहण नगर्न आग्रह गर्दै यस्ता उपायले जाडो मौसममा फुजी चढ्नु कस्तो हुन्छ भन्नेबारे मानिसलाई पुनर्विचार गर्न प्रेरित गर्ने बताएका छन् । यामानाशी र छिमेकी शिजुओका प्रिफेक्चर, जसले फुजीको दक्षिणी भागको व्यवस्थापन गर्छ, दुवैले अफ–सिजनमा बिनायोजना तथा अनुमति आरोहण गर्नेको संख्या बढेको बताएका छन् । केही आरोहीहरू हिमालमै अलपत्र परेका घटनासमेत भएका छन् ।
शिजुओका प्रिफेक्चरले अफ–सिजन आरोहणका लागि अनिवार्य दर्ता नगर्ने व्यक्तिमाथि जरिवाना लगाउने र प्रतिबन्धित क्षेत्रमा आरोही प्रवेश गर्न नदिन थप कडाइ गर्ने जनाएको छ । तर शिजुओकाले हेलिकोप्टर उद्धारका लागि शुल्क लिने योजना घोषणा गरेको छैन । प्रत्येक वर्ष करिब २ लाख मानिस फुजीको शिखर पुग्ने प्रयास गर्छन् । अफ–सिजनमा अधिकांश हिमाली आश्रयस्थल र शौचालय समेत बन्द हुन्छन् । साथै मौसम तथा पदमार्गको अवस्था पनि तुलनात्मक रूपमा निकै कठिन र जोखिमपूर्ण हुने गर्छ । त्यसैले मुख्य सिजनबाहेक फुजी आरोहणलाई जापानी अधिकारीहरूले कडा रूपमा निरुत्साहित गर्दै आएका छन् ।






















