समाचार

झापामा जङ्गली हात्ती मृत फेला

रासस
२०८३ भदौ ३१ | मध्यान्ह ०१:०५ बजे

झापा । झापाको मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा मङ्गलबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवका अनुसार हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको छ। स्थानीयवासीले धानखेतमा वयस्क दाह्रे हात्ती मरेको देखेर प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए। हात्तीको मृत्युको स्पष्ट कारण भने अझै खुल्न नसकेको यादवले बताएका छन्।

मेचीनगरका वडा नम्बर २, ३, ४ र ५ मा लामो समयदेखि जङ्गली हात्तीले मानवीय क्षति गर्नुका साथै किसानको खेतीबालीमा ठूलो नोक्सानी पुर्याउँदै आएको छ। झापामा मेची नदी पार गरेर भारतीय जङ्गलबाट ठूलो सङ्ख्यामा जङ्गली हात्ती चरणका लागि आउने गरेका छन्। यसबाहेक स्थानीय जङ्गलमै बस्दै आएका रैथाने हात्तीको सङ्ख्या पनि हालैका वर्षहरूमा बढेको छ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्षमा झापाका विभिन्न क्षेत्रमा २८ वटा जङ्गली हात्ती मृत भेटिएका छन्।

कमेन्टहरु