सिधनियाघाटको राप्ती नदीमा निर्माणाधीन पुलप्रति स्थानीय असन्तुष्ट

रासस

सारांश
बाँके । बाँकेको सिधनियाघाटस्थित राप्ती नदीमा ७०० मिटर लम्बाइको पक्की पुल धमाधम निर्माण भइरहे पनि स्थानीयवासी खुसी हुन सकेका छैनन्।
नरैनापुर र राप्तीसोनारी गाउँपालिकालाई सदरमुकाम नेपालगन्जसँग जोड्ने सिधनियाघाटस्थित राप्ती नदीको पुललाई पूरै राप्ती नदी वारपार हुने गरी निर्माण गर्नुपर्ने स्थानीयको माग छ। हाल उक्त स्थानमा २०६२ सालमा निर्माण गरिएको ३५० मिटर लम्बाइको एक लेनको पक्की पुल सञ्चालनमा छ भने सोही स्थानमा हाल ७०० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको अर्को पुल निर्माणाधीन अवस्थामा छ।
राप्ती नदीमाथि बनिरहेको पुल अहिले स्थानीयवासीका लागि सुविधाभन्दा बढी सुरक्षाको चासो र चिन्ताको विषय बनेको छ। राप्ती नदीको पूरा चौडाइ ओगट्ने गरी पुल नबनाई अधूरो लम्बाइमा सीमित गरिएकाले आउँदा वर्षहरूमा डुबान र कटानको जोखिम अझ बढ्ने त्रास स्थानीयमा छाएको राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले बताए।
राप्ती नदीका कारण २०७० र २०७४ मा आएको बाढीले धेरै धनजनको क्षति गरेको उल्लेख गर्दै खरेलले नदीबाट स्थानीय नागरिकलाई जोगाउन भए पनि पुल पूरै भूभागमा निर्माण हुनुपर्ने बताएका छन्। ‘निर्माणाधीन पुल ७०० मिटरमा मात्रै छ, पुल नदी बग्ने पूरा भाग एक हजार १४० मिटरमै निर्माण गर्नुपर्छ,’ खरेल भन्छन्, ‘अपूरो पुल बनाउँदा यहाँका स्थानीयको समस्या समाधान नगरेर झनै डुबान र कटान हुने सम्भावना देखिन्छ।’
डुडुवा–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले सिधनियाघाटमा ७०० मिटरको मात्र पुलको औचित्य नभएको भन्दै बाँकी ४४० मिटर पनि थप गर्नुपर्ने बताएका छन्। बाँकी भागमा ड्याम बनाउँदा भविष्यमा थप जोखिम निम्तिन सक्ने र स्थानीयले सुविधा पनि नपाउने भएकाले पूरै भागमा पुल निर्माण अनिवार्य भएको उनको भनाइ छ। राप्ती नदी सिधनियाघाटसम्म पूर्वबाट बगेर आउने र यहाँबाट मोडिएर पुनः पूर्वतिरै बग्ने गरेका कारण हरेक वर्ष जसो स्थानीयको जमिन कटान र डुबान हुने गरेकाले निर्माणाधीन पुललाई पूरै भागसम्म बनाउन आवश्यक रहेको उनले उल्लेख गरे।
हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत नेपालगन्ज योजना कार्यालयका प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले स्थानीयले उठाएको माग मन्त्रालयमा पठाउने जानकारी दिएका छन्। उनका अनुसार कुल एक अर्ब १९ करोड रुपैयाँ लागत रहेको आयोजनामा हालसम्म करिब ९० करोड रुपैयाँ भुक्तानी भइसकेको छ। २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको पुल २०८४ असोज ४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पुलसँगै पश्चिमतर्फ एक हजार र पूर्वतर्फ ४८० मिटर गरी कुल एक हजार ४८० मिटर पहुँच सडक निर्माण हुनेछ। पुल आसपास करिब चार हजार ६०० मिटर क्षेत्रमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणको कामसमेत हुने भण्डारीको भनाइ छ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

















