बिश्व

इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलरभन्दा बढी

एजेन्सी
२०८३ भदौ ३१ | बिहान ११:०५ बजे

वाशिङटन डीसी । इरानविरुद्ध अमेरिकाले छ महिनादेखि सञ्चालन गरिरहेको युद्धमा हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च भएको अमेरिकी कांग्रेसको गैरदलीय बजेट कार्यालय (सीबीओ)ले जनाएको छ । युद्ध जारी रहेमा खर्च हरेक महिना थप करिब ३ अर्ब डलर बढ्न सक्ने कार्यालयको अनुमान छ । सीबीओको यो हिसाब अगस्ट १ सम्म भएको खर्चमा आधारित रहेको बताइएको छ ।

रिपोर्टअनुसार युद्धका कारण सन् २०२७ को पहिलो तीन महिनामा अमेरिकाको मुद्रास्फीति शून्य दशमलव ५ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ ।

युद्धको बढ्दो खर्चले अमेरिकी हतियार तथा गोलाबारुदको भण्डारमा समेत दबाब परेको छ । सीबीओका अनुसार युद्धका क्रममा तीव्र गतिमा प्रयोग भइरहेका गोलाबारुदको भण्डार पुनःभर्ना गर्न पाँच वर्षसम्म लाग्न सक्ने अनुमान छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले युद्धका क्रममा आफ्ना लामो दूरीका अत्याधुनिक क्षेप्यास्त्रहरूको ठूलो हिस्सा प्रयोग गरिसकेको छ । यसले भविष्यमा उत्पन्न हुन सक्ने अन्य सम्भावित द्वन्द्वमा अमेरिकाको सैन्य प्रतिक्रिया क्षमताबारे समेत चिन्ता बढाएको छ ।

युद्धको लागत जुलाई २१ मा रक्षामन्त्री पिट हेगसेथले अमेरिकी सिनेटको सुनुवाइमा उल्लेख गरेको ३७ अर्ब ५ करोड डलरभन्दा केही बढी हो । युद्धले अमेरिकी अर्थतन्त्रमा थप दबाब पनि सिर्जना गरेको छ । इरानसँगको द्वन्द्वका कारण ऊर्जाको मूल्य बढेको र संघीय बजेटमा थप भार परेको सीबीओले जनाएको छ ।

यसैबीच, ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने तथा स्ट्रेट अफ होर्मुज पुनःखोल्ने उपाय खोजिरहेको छ । विश्वको महत्वपूर्ण तेल तथा व्यापारिक मार्गमध्ये एक होर्मुजमा जारी अवरोधले विश्वव्यापी ऊर्जा बजारमा समेत असर पारिरहेको छ ।

सीबीओले आफ्नो रिपोर्टमा अमेरिकी रक्षा मन्त्रालयले कांग्रेसका वित्तीय लेखापरीक्षकहरूसँग आवश्यक सहकार्य नगरेको पनि उल्लेख गरेको छ ।

कमेन्टहरु