मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

फेज नेपालसँगको साझेदारीमा धुलाचौरमा प्रसूति गृह र ल्याब सेवा सहित स्वास्थ्य सेवा विस्तार

उमेश रोकाया
२०८३ भदौ ३० | मध्यान्ह १०:०५ बजे

बाजुरा, भदौ ३० । भौगोलिक विकटता तथा छरिएका बस्तीका कारण स्वास्थ्य सेवा विस्तारमा चुनौती रहँदै आएको हिमाली गाउँपालिकामा स्वास्थ्य सेवा थप विस्तार गरिएको छ। फेज नेपाल र हिमाली गाउँपालिकाबीचको साझेदारीमा वडा नं. ६ र ७ का नागरिकलाई लक्षित गरी धुलाचौरमा व्यवस्थित प्रसूति गृह तथा ल्याबसहितको स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो।

स्वास्थ्य सेवा विस्तार कार्यक्रमको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा गाउँपालिका प्रवक्ता भीमानन्द पाण्डेले मन्तव्य राख्दै दुर्गम क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तह र साझेदार संस्थाबीचको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा फेज नेपालको तर्फबाट संस्थाका स्वास्थ्य विभाग प्रमुख गणेश श्रेष्ठले स्वास्थ्य सेवा विस्तारको उद्देश्य र आगामी योजनाबारे जानकारी दिनुभयो। उहाँका अनुसार धुलाचौरलाई मुख्य केन्द्र बनाएर हिमाली गाउँपालिका वडा नं. ६ र ७ मा रहेका अन्य तीनवटा स्वास्थ्य संस्थालाई समेत आवश्यक सहयोग उपलब्ध गराउने योजना रहेको छ। यसबाट दुई वडाका विभिन्न बस्तीमा रहेका नागरिकले स्थानीय तहमै आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

हिमाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा प्रवाहमा विभिन्न चुनौती रहे पनि गाउँपालिकाले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सेवा विस्तारमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले साझेदार संस्थासँगको सहकार्यले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभयो।

फेज नेपालसँग विगत दुई वर्षदेखि निरन्तर हुँदै आएको समन्वय, छलफल र सहकार्यको परिणामस्वरूप धुलाचौरमा प्रसूति गृह तथा ल्याबसहितको सेवा सञ्चालन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ। नयाँ सेवा सञ्चालनसँगै वडा नं. ६ र ७ का नागरिकलाई विशेषगरी प्रसूति सेवा तथा स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

हिमाली गाउँपालिकाले आफ्नै स्रोतबाट गाउँ–गाउँमा स्वास्थ्य संस्था सञ्चालन गर्दै आएको छ भने स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै आएको छ। यसअघि पनि सुर्खेत आँखा अस्पताल, च्यारेटी फाउन्डेसन र हिमाली गाउँपालिकाको साझेदारीमा धुलाचौर आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको थियो। करिब दुई महिनाअघि उद्घाटन भएको उक्त केन्द्रबाट स्थानीय नागरिकले आँखा उपचार सेवा प्राप्त गरिरहेका छन्।

स्वास्थ्य सेवा विस्तारसँगै गाउँपालिकाले कुवाडीमा निर्माणाधीन १० शय्याको अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवा सञ्चालन गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। धुलाचौरलाई मुख्य स्वास्थ्य केन्द्रका रूपमा विकास गर्दै वडा नं. ६ र ७ का अन्य स्वास्थ्य संस्थासँग समन्वय र सहकार्य गरी स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने लक्ष्य गाउँपालिकाको रहेको छ।

भौगोलिक विकटतालाई चुनौतीका रूपमा स्वीकार गर्दै स्थानीय तह, स्वास्थ्य संस्था र साझेदार संस्थाबीचको सहकार्यबाट नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने अभियानलाई निरन्तरता दिइने कुरा स्वास्थ्य शाखा प्रमुख एबम गाउपालिका सूचना अधिकारी राज बहादुर भन्डारीले बताउनुभएको छ।

कमेन्टहरु