समाज

‘शताब्दी घर’मा लाखेको बिदाइ !

रासस
२०८३ भदौ ३० | मध्यान्ह ०४:०५ बजे

पर्वत। तीज पर्व सकिएसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ। बर्खे नाचका रूपमा चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गर्ने गरिन्छ।

जनैपूर्णिमाको भोलिपल्टदेखि भदौरे जात्राको रौनक सुरु हुने भए पनि नेवार समुदायको लोकप्रिय लाखे नाच भने गठेमङ्गल पर्वदेखि नै नचाउने परम्परा छ।

पर्वतको कुश्मास्थित ‘शताब्दी घर’ को आँगनमा सोमबार साँझ लाखे नाच प्रदर्शन गर्दै यस वर्षका लागि बिदाइ गरिएको छ। पुराना बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजले यो अन्तिम नाच आयोजना गरेको स्थानीयवासी जयन्द्रकुमार जोशीले बताए। कुश्मामा भुते औँशीदेखि तीजसम्म लाखे नाचका साथै रोपाइँ, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच देखाउने परम्परा रहँदै आएको छ।

स्थानीय संस्कृतिविद्हरूका अनुसार भदौरे जात्रामा नागा नाच, कृष्ण जात्रा, बकुल्ला नाच आदि पर्छन्। संरक्षण अभावमा बकुल्ला नाच र हनुमान नाच भने लोप हुने अवस्थामा पुगेका छन्। भूतप्रेतबाट मानिसलाई बचाउने किंवदन्तीसँग जोडिएको लाखे नाचलाई जोगाउन नयाँ पुस्तामा हस्तान्तरण र राज्यको नीतिगत सहयोग आवश्यक रहेको संरक्षणकर्मी आरके अदीप्त गिरीले बताए।

घण्टाकर्ण पर्वमा सुरु भई तीजमा समापन गरिने लाखे नाचमा राक्षसको स्वरूप झल्कने मुकुट र देवी वस्त्र पहिरिएर नाच्ने गरिन्छ। सयौँ वर्षअघि काठमाडौँ उपत्यका र काभ्रेबाट आएका नेवार समुदायले पर्वत र बागलुङलगायतका स्थानमा यो परम्परा बसालेका हुन्। मौलिक कला, संस्कृति र भाइचाराको प्रतीकका रूपमा रहेका यस्ता परम्परागत नाचहरूको संरक्षणमा स्थानीय तह र समुदायले ध्यान दिनुपर्ने देखिन्छ।

कमेन्टहरु