समाज

बाँकेमा ६ सय हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण, करिब चार हजार घरटहरा निर्माण

रासस
२०८३ भदौ ३० | मध्यान्ह ०२:०५ बजे

राँझा (बाँके)। बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६ सय ७ हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा परेको छ। अतिक्रमित वन क्षेत्रमा करिब ३ हजार ९९० घरटहरा निर्माण भएका छन्।

हालसम्म बाँकेमा ६०७ दशमलव ९८ हेक्टर वन क्षेत्र अतिक्रमण भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिएका छन्। अतिक्रमणको ठुलो हिस्सा विगतमा बाढीबाट विस्थापित भएका परिवारसँग जोडिएको छ। नरैनापुर गाउँपालिकामा मात्रै २७३ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ९७५ घरधुरी बसोबास गरिरहेका छन्। तत्कालीन समयमा बाढीपीडितलाई बस्न दिइएको क्षेत्रमा अतिक्रमण हटाउने प्रयास भए पनि पुनः बाढी आएपछि विस्थापित परिवार फर्केर बस्न थालेका हुन्।

विक्रम संवत् २०६६ र त्यसपछि बाढीबाट प्रभावित परिवारलाई बसोबासका लागि दिइएको वन क्षेत्र व्यवस्थित हुन नसक्दा समस्या बढ्दै गएको हो। २०७४ सालको बाढीपछि पनि त्यस्ता परिवार पुनः वन क्षेत्रमा आएर बसोबास गर्न थालेका छन्।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा २११ हेक्टर वन क्षेत्र अतिक्रमण गरी १ हजार ९२५ घरधुरीले बसोबास तथा खेतीपाती गर्दै आएका छन्। वडा नम्बर २ मा ३२ दशमलव ९८ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ६०४ घरटहरा निर्माण गरिएको छ। सोही गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा ४१ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ७२ घरधुरी बसोबास गरिरहेको पाइएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर ७, ८ र १२ तथा बैजनाथ गाउँपालिका-२ मा समेत वन क्षेत्र अतिक्रमण भएको छ। ती क्षेत्रमा २०४४/४५ देखि २०७१/७२ सम्म गैरबाढीपीडितका २० घरटहरा निर्माण भए पनि अहिले त्यहाँ नियमित बसोबास नरहेको र सात जनाले भने खेतीपाती गर्दै आएका छन्।

डुडुवा गाउँपालिका-१ बाहेक अन्य वडा र नेपालगन्जका विभिन्न क्षेत्रमा समेत वन क्षेत्रमा ३९४ घरटहरा निर्माण भएको सूचना अधिकारी गुरुङले जानकारी दिए। बाँकेमा भएको अधिकांश वन अतिक्रमण २०७५ सालअघि नै भएको हो। वन अतिक्रमण हटाउन चालु आर्थिक वर्षमा योजना बनाएर अगाडि बढ्ने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

कमेन्टहरु