सामाजिक सञ्जालमा उम्मेदवारी घोषणादेखि चुनावी हारसम्म, परिणामपछि पनि रोकिएन समाजसेवाको यात्रा


लहान भदौ २९ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि फेरि बढ्न थालेका छन्। वर्षौँसम्म राजनीतिक गतिविधिबाट टाढा देखिएका कतिपय राजनीतिक व्यक्तित्वहरू चुनाव नजिकिएसँगै सक्रिय हुन थालेका छन्। सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतका माध्यमबाट उम्मेदवारी घोषणा गर्ने क्रम पनि पछिल्लो समय निकै फस्टाएको छ।
चुनावअघि धेरै उम्मेदवारले आफू नै विजयी हुने दाबी गर्छन्। तर निर्वाचनको परिणाम आएपछि मात्र वास्तविकता देखिन्छ। उम्मेदवार धेरै भए पनि निर्वाचित हुने व्यक्ति भने एक जना मात्र हुन्छ।
निर्वाचनमा समाजका लागि निरन्तर खटिएका, स्थानीयको दुःख–सुखमा साथ दिएका र जनताको नजरमा स्थापित व्यक्तिले जित हासिल गर्ने अपेक्षा गरिन्छ। तर व्यवहारमा भने पैसा, राजनीतिक पहुँच, नातावाद र कृपावादले पनि निर्वाचनमा ठूलो प्रभाव पार्दै आएको गुनासो सुनिन्छ।
वर्षौँदेखि समाजसेवा र सामाजिक कार्यमा सक्रिय रहेका कतिपय व्यक्तित्वहरू आर्थिक अभावकै कारण राजनीतिमा पछाडि परेको अवस्था अझै देखिन्छ। जससँग पैसा छैन तर विचार र समाजका लागि केही गर्ने प्रतिबद्धता छ, त्यस्ता व्यक्ति राजनीतिक पहुँचबाट टाढा रहनुपर्ने अवस्था मधेस प्रदेशमा अझै पूर्ण रूपमा हट्न सकेको छैन।
निर्वाचनमा उम्मेदवार बन्ने युवाहरूको संख्या पनि बढ्दो छ। कतिपय उम्मेदवारले चुनावमा राम्रो जनसमर्थन पाए पनि संगठन, कार्यकर्ता र राजनीतिक संरचनाको अभावमा पराजय व्यहोर्नुपरेको देखिन्छ। तर चुनावमा पराजित हुँदैमा समाजसेवाबाट पछि हट्नुपर्ने भने हुँदैन।
यसको उदाहरणका रूपमा सिरहाको नवराज गाउँपालिका वडा नं ३ का वडा अध्यक्षका प्रत्याशी राम सुरेश यादवलाई लिन सकिन्छ। निर्वाचनमा जित हासिल गर्न नसके पनि यादव समाजसेवाबाट भने पछि हटेका छैनन्। स्थानीयका घरमा दुःख – सुख पर्दा साथ दिने, अभिभावक गुमाएका परिवारदेखि दलित तथा विपन्न परिवारलाई आवश्यक सहयोग गर्ने काममा उनी निरन्तर सक्रिय रहँदै आएका छन्।
राजनीतिमा सफलता र असफलता निर्वाचनको मतपरिणामले निर्धारण गर्छ। तर समाजसेवाको मूल्यांकन चुनावी परिणामले मात्र हुँदैन। राम सुरेश यादवको निरन्तर सामाजिक सक्रियताले पनि यही सन्देश दिन्छ – चुनाव हार्न सकिन्छ, तर समाजसेवाको बाटो हार्नु हुँदैन।
निर्वाचनअघि सबै उम्मेदवार जनताको नजिक देखिन्छन्। तर निर्वाचन सकिएपछि पनि जनताको दुःख – सुखमा उभिने व्यक्ति नै वास्तविक अर्थमा समाजसँग जोडिएको राजनीतिक व्यक्तित्व बन्न सक्छ।
























