थारू समुदायमा अट्वारी पर्वको रौनकता : पूर्वमुख्यमन्त्रीदेखि जनप्रतिनिधिसम्म रोटी बनाउन व्यस्त


दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वका लागि चाहिने रोटी बनाउन आफैँ व्यस्त रहे। उनले रोटी र अन्य परिकार तयार पारेर पूजाआजासमेत गरे।
तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरी पनि दिनभर अट्वारीमै व्यस्त देखिए। उनले अनदी (अन्डी)को रोटी, खुर्मा, फुलौरी र बरियाजस्ता परिकार बनाए। दाङसहित पश्चिम नेपालको थारू समुदाय आइतबार यसरी नै पर्व मनाउन व्यस्त रह्यो।
उनका अनुसार शनिबार राति अघिल्लो दिनका रूपमा दर खाने गरिन्छ। आइतबार आधा दिनसम्म व्रत बसेपछि पूजाआजा गर्ने र फलफूलमात्र उपभोग गर्ने चलन छ। सूर्यास्तपछि खानपान पूरै बन्द गर्नुपर्छ।
सोमबार बिहानै पूजापाठ अर्थात् ‘फलहार’ गरिन्छ। बनाइएका विभिन्न परिकारलाई दुई भागमा छुट्याइन्छ। एउटा भाग चेलीबेटीलाई ‘अग्रासन’ (कोसेली) स्वरूप दिनका लागि राखिन्छ भने अर्को भाग बर्तालुहरूले उपभोग गर्छन्। भोजन ग्रहणपछि अग्रासन दिन जाने प्रचलन छ।
विवाहित चेलीबेटी माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन्। दाजुभाइले ल्याइदिने अग्रासनले नै उनीहरू आफ्नो भोक मेट्छन्। विभिन्न परिकारको पोकोसहित आउने दाजुभाइलाई चेलीहरूले मानसम्मान गर्ने चलन थारू समुदायमा छ। पछिल्लो समय यो परम्परा हराउँदै जान थालेको छ।
थारू जातिले महाभारतका पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको पूजाआजा गर्छन्। पौराणिक मान्यताअनुसार तराईमा एउटा राक्षसले दुःख दिने र चेलीमाथि जबर्जस्ती गर्ने गरिरहेको थियो। तराई घुम्न आएका भीम (भेवा)ले राक्षसबाट मुक्ति दिलाएकाले उनको पूजा गर्ने गरिएको किंवदन्ती छ।
अर्को किंवदन्तीअनुसार द्रौपदीसहित पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए। थारू राजा दङ्गीशरण र पाण्डवहरूबीच घनिष्ठता थियो। एक समय भीमले रोटी पकाइरहँदा दङ्गीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे।
बलवान् भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरूले तावाको रोटी पल्टाउन सकेनन्। भीमले राजा दङ्गीशरणलाई सहयोग गरेर फर्केपछि मात्र तावाको रोटी झिकेका थिए। सहयोग गरेको उक्त दिन आइतबार परेकाले अट्वारी पर्व आइतबार मनाउने प्रचलन बसेको थारू अगुवाहरूको भनाइ छ।






















