समाज

चितवनमा ५० हेक्टर वन क्षेत्रमा ‘टाइगर सेन्चुरी’ बन्दै

रासस
२०८३ भदौ २८ | मध्यान्ह ०५:०५ बजे

चितवन । समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले राष्ट्रिय निकुञ्जमा टाइगर सेन्चुरी बनाउन थालिएको छ ।

हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न  पाँच करोड बजेट विनियोजन गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टरसहित तीन किसिमका संरचना सेन्चुरीमा बनाइने छ ।

आचार्यका अनुसार खोरभित्र रहेका बाघलाई मचानमा बसेर वा ‘क्लोजब्रिज’बाट हेर्न मिल्ने गरी बाघ राखिने छ । ती बाघलाई घेरिएका संरचना दुई तहको बनाइने छ । भित्रको बाघ बाहिर आउन नसक्ने र बाहिरका जनावर भित्र छिर्न नसक्ने गरी संरचना बनाइने छ । यो होल्डिङ सेन्टरभन्दा धेरै फराकिलो हुने छ ।

सो वन क्षेत्रमा ५० हेक्टर जमिन लिएर बाँकी भागलाई खुल्ला खोरका रूपमा विकास गरिने प्रवक्ता आचार्यले बताए । खोरभित्रका बाघ मानिसले जीपमा बसेर हेर्न पाउनेछन्  । ”तीन तहमा टाइगर सेन्चुरी बनाउनका लागि यसै आर्थिक वर्षदेखि काम गरिने छ । उनका अनुसार ती क्षेत्रमा २० वटा बाघ राख्न मिल्ने गरी संरचना बनाइने छ,” आचार्यले भने ।

बाघलाई एक अर्काको बीचमा बार बनाएर राखिने छ ।समस्याग्रस्त बाघलाई उद्धार गरेर प्राकृतिक वातावरणकै झल्को दिने गरी व्यवस्थापन गर्न लागिएको हो । नेपालमा यस खालको संरचना अहिलेसम्म बनाइएको छैन । विदेशमा टाइगर सेन्चुरी बनाएर त्यहाँ पर्यटक घुमाएर आम्दानी पनि गर्ने गरिएको छ ।

आचार्यका अनुसार नेपालमा यस खालको सेन्चुरी बनेसँगै बाघको व्यवस्थापन र पर्यटक घुमाएर आम्दानी गर्न सकिने छ । नेपालका विभिन्न ठाउँमा रहेका खोरहरूमा १९ वटा समस्या ग्रस्त बाघ छन् । खोरमा भएकामध्ये सबैभन्दा बढी चितवनमा सात, बर्दिया र चिडियाखानामा पाँच/पाँच वटा, पर्सा र बाँकेमा एक/एक वटा बाघ रहेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले जानकारी दिए ।

सबैभन्दा बाघ भएको चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिनु परेका समस्याग्रस्त बाघ राख्ने खोर नभएपछि अन्यत्र पठाउने गरिएको छ । संरक्षण अधिकृत पुनका अनुसार यसै महिना नियन्त्रणमा लिइएको एउटा बाघलाई पर्सा पठाइएको छ । बाघको संख्या धेरै हुँदै गर्दा समस्या ग्रस्त बाघ बढ्दै गएका छन् । “मानव बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउने हिंस्रक बाघलाई समस्याग्रस्त मानेर नियन्त्रणमा लिई खोरमा राख्ने गरिन्छ । केही समय राखेर कतिपयलाई पुनः वनमा छोडिन्छ भने कतिपयलाई नमरेसम्म खोरमा राख्ने गरिन्छ”, उनले भने ।

बुढो, घाइते र बिरामी भएर सिकार गर्न नसकेपछि त्यस्ता बाघ मानव बस्तीमा पस्ने गर्दछ । त्यस्ता बाघलाई राखेर व्यवस्थापन र पर्यटकीय गन्तव्य समेत बनाउने उद्देश्यले टाइगर सेन्चुरी बनाउन लागिएको संरक्षण अधिकृत  पुनले जानकारी दिए ।  राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार नेपालमा बाघको सङ्ख्या ४२९ छ ।

जसमध्ये चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार यो सङ्ख्या ३५५ थियो । सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।

कमेन्टहरु