मोदीले भाषण रोक्दै सी जिनपिङलाई सोधे– ‘तपाईं आराम हुनुहुन्छ ?’


नयाँदिल्ली । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ताले भारत–चीन सम्बन्धमा सुधारको संकेत दिएको छ । सम्मेलनका क्रममा मोदीले आफ्नो सम्बोधन केही क्षण रोकेर जिनपिङको स्वास्थ्य अवस्थाबारे समेत चासो व्यक्त गरेका छन् ।
दूरदर्शनले सार्वजनिक गरेको भिडियोमा मोदीले सम्बोधन गरिरहेका बेला जिनपिङतर्फ ध्यान दिएका थिए । त्यसपछि उनले जिनपिङसँगै रहेका अनुवादकलाई अंग्रेजीमा ‘इज इट ओके ?’ भन्दै उनी ठीक भए–नभएको सोधेका थिए । केही क्षणपछि मोदीले फेरि त्यही प्रश्न दोहोर्याएको भिडियोमा देखिन्छ ।
जिनपिङले टाउको हल्लाउँदै जवाफ दिएपछि मोदीले आफ्नो सम्बोधन पुनः सुरु गरेका थिए । यद्यपि, त्यतिबेला जिनपिङ असहज देखिनुको वास्तविक कारण भने स्पष्ट भएको छैन । यो समस्या माइक्रोफोन, अनुवाद वा अन्य प्राविधिक विषयसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।
मोदी–जिनपिङ भेटमा देखियो न्यानोपन
जिनपिङ भारत आइपुग्दा मोदीले भारत मण्डपममा उनको न्यानो स्वागत गरेका थिए । दुई नेताले हात मिलाएका थिए । उनीहरूबीचको भेटका क्रममा पछाडि तमिलनाडुको रामनाथस्वामी मन्दिरको प्रसिद्ध वास्तुकला देखाइएको थियो । मोदीले जिनपिङलाई उक्त वास्तुकलाबारे जानकारी गराएको बताइएको छ । त्यसपछि दुई नेताबीच लामो कुराकानीसमेत भएको थियो ।
द्विपक्षीय बैठकमा भारत र चीनले आपसी मतभेदलाई विवादमा परिणत हुन नदिनुपर्नेमा जोड दिएका थिए । दुवै देशले सम्बन्धलाई दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट अघि बढाउने तथा आपसी सम्मान, आपसी संवेदनशीलता र आपसी हितलाई मार्गदर्शक सिद्धान्त बनाउने विषयमा जोड दिएका छन् ।
गलवान घटनापछि लामो समय तनावपूर्ण बनेको भारत–चीन सम्बन्धमा पछिल्लो समय संवाद र सम्पर्क बढाउने प्रयास भइरहेको छ । ब्रिक्स सम्मेलनको पहिलो दिन मोदी र जिनपिङबीच देखिएको सहजता तथा कुराकानीलाई पनि यही सुधारको प्रयाससँग जोडेर हेरिएको छ ।
डिनरमा जिनपिङ नजानुको काराण
मोदीले भाषणकै बीच जिनपिङको अवस्थाबारे चासो राखेको घटनापछि चिनियाँ राष्ट्रपति प्रधानमन्त्री मोदीले आयोजना गरेको रात्रिभोजमा सहभागी नभएपछि त्यसबारे थप चर्चा भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार जिनपिङ लामो यात्राका कारण थकित थिए । उनी शनिबार बिहान चीनबाट प्रस्थान गरी दिउँसो नयाँदिल्ली आइपुगेका थिए । त्यसपछि उनले ब्रिक्स सम्मेलनमा सहभागिता जनाउनुका साथै मोदीसँग द्विपक्षीय वार्ता पनि गरेका थिए ।
व्यस्त कार्यक्रम, लामो हवाई यात्रा र समयको अन्तरका कारण थकान महसुस गरेपछि जिनपिङ होटल फर्किएर आराम गर्न गएको बताइएको छ । त्यसैले डिनरमा उनको अनुपस्थितिलाई तत्कालै कुनै राजनीतिक संकेतका रूपमा लिन नहुने बताइएको छ ।





















