दुर्घटना

रुकुम पश्चिमको सानीभेरीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, नौ घाइते

रासस
२०८३ भदौ २८ | मध्यान्ह १२:०५ बजे

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

आइतबार बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जानकारी दिए । घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले बताए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा चारजना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी गराए । “जीपमा ११ जना सवार थिए । तीमध्ये पाँचजना घाइतेको अवस्था भने मध्यम छ । जीप चालक र एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ भने सनाखत हुन बाँकी छ”, उनले भने ।

घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।

कमेन्टहरु