दुबई यूएई, देश, प्रबास, बिश्व

समस्यामा परेका नेपाली युवाको उद्धारमा: यूएई स्थित एनआरएन एनसीसी युएईको मानवीय पहल

कबिराज राजबंशी
२०८३ भदौ २८ | मध्यान्ह १२:०५ बजे

Picsart 26 09 13 10 17 06 835

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पहलपछि NRNA NCC UAE ले उद्धारदेखि नेपाल फर्काउनेसम्मको जिम्मेवारी लिने

प्रवास दुबई, यूएई |

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा समस्यामा परेका एक नेपाली युवाको उद्धारका लागि नेपाली समुदायले मानवीय पहल अघि बढाएको छ। समस्यामा परेका ती युवाले सहयोगको अपेक्षासहित नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई सम्पर्क गरेपछि उनको अवस्थाबारे जानकारी सार्वजनिक भएको थियो।

समस्यामा परेका नेपाली युवाले रुँदै मन्त्री पुनलाई आफ्नो अवस्थाबारे जानकारी गराएको बताइएको छ। त्यसपछि पुनले सामाजिक सञ्जालमार्फत उनको अवस्थाबारे जानकारी सार्वजनिक गर्दै सहयोगका लागि नेपाली समुदायसँग आग्रह गरेका थिए। उक्त अपिल सार्वजनिक भएपछि यूएईमा रहेका नेपालीहरूबीच ती युवाको उद्धारका लागि तत्काल पहल गर्नुपर्ने आवाज उठेको थियो।

IMG 20260913 103807

मन्त्री पुनको पोस्टपछि यूएईमा रहेका विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता तथा व्यक्तिहरूले चासो देखाएका थिए। धेरैले पुनसँग फोन तथा म्यासेजमार्फत सम्पर्क गरी समस्यामा परेका युवालाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे जानकारी लिएका थिए।

 

यसैक्रममा नेपाल एसोसिएसन–NRNA NCC UAE ले उद्धारको जिम्मेवारी अघि बढाएको हो। NRNA NCC UAE का अध्यक्ष भीम मल्ल ठकुरीका अनुसार, घटनाबारे जानकारी पाएपछि आफू करिब एक घण्टाको यात्रा गरेर ती युवालाई लिन पुगेका थिए। समस्यामा परेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा ल्याई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले आफू स्वयं घटनास्थलतर्फ गएको उनले बताए।

 

अध्यक्ष ठकुरीका अनुसार “अबदेखि ती युवाको बस्ने तथा खाने व्यवस्था, आवश्यक कागजात तयार गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र अन्ततः सुरक्षित रूपमा नेपाल फर्काउनेसम्मको जिम्मेवारी नेपाल एसोसिएसन–NRNA NCC UAE ले लिनेछ।”

 

यसअघि मन्त्री पुनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अपिलमा शारजाहमा रहेका नेपाली युवक सुनिल लुंगेली मगर समस्यामा परेको उल्लेख गरिएको थियो। उनको राहदानीसमेत काम गर्ने ठाउँमा रहेको र तत्काल उद्धार तथा सहयोग आवश्यक रहेको जानकारी पोस्टमा समेटिएको थियो।

 

मन्त्री पुनको अपिल सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छोटो समयमै ठूलो संख्यामा नेपालीले पोस्टमा प्रतिक्रिया जनाएका थिए। धेरैले सहयोगका लागि आफूहरू तयार रहेको भन्दै सम्बन्धित व्यक्तिको उद्धार गर्न आग्रह गरेका थिए।

 

यस घटनाले विदेशमा समस्यामा परेका नेपालीका लागि सामाजिक सञ्जाल र नेपाली समुदायबीचको सहकार्य तत्काल राहत तथा उद्धारको माध्यम बन्न सक्ने देखाएको छ। विशेषगरी यूएईमा रहेका नेपाली संघसंस्थाले आपत्‌विपत्मा परेका नेपालीलाई सहयोग गर्न एकआपसमा समन्वय गर्दै आएका छन्। अध्यक्ष ठकुरीले समस्यामा परेका नेपालीलाई एक्लो महसुस हुन नदिन र सम्भव भएसम्म सुरक्षित रूपमा घर फर्काउन समुदायले सहयोग गर्नुपर्ने धारणा राखेका छन्।

“आजदेखि उहाँको बस्ने–खाने व्यवस्था, आवश्यक कागजात तयार गर्ने र नेपाल फर्काउनेसम्मको जिम्मेवारी नेपाल एसोसिएसन–NRNA NCC UAE ले लिनेछ,” अध्यक्ष ठकुरीले बताएका छन्।

 

समस्यामा परेका नेपालीको उद्धारका लागि मन्त्री पुनबाट सुरु भएको पहललाई NRNA NCC UAE ले संस्थागत रूपमा अघि बढाउँदै जिम्मेवारी लिएपछि ती युवाले अब सुरक्षित रूपमा नेपाल फर्किने आशा बढेको छ। यो घटनाले विदेशमा रहेका नेपालीबीच “समस्या पर्दा नेपाली नै नेपालीको सहारा” बन्ने मानवीय भावनालाई समेत पुनः उजागर गरेको छ।

कमेन्टहरु