नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

रासस

सारांश
तनहुँ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँमा नदी नियन्त्रण तथा सिँचाइका विभिन्न कार्यक्रमका लागि रु १५ करोड बजेटको कार्यक्रम सञ्चालन गरेको छ । नदी कटान तथा डुबान नियन्त्रण, पहिरो नियन्त्रण र सिँचाइ सुविधा विस्तारलाई प्राथमिकता दिँदै आयोजना अघि बढाइएको हो ।
आयोजना प्रमुख सुपिन्द्र खत्रीले चालु आवमा सिँचाइ, पहिरो र नदी नियन्त्रणतर्फ विभिन्न योजनामा बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार मर्स्याङ्दी नदी नियन्त्रणका लागि रु आठ करोड, मादी नदी नियन्त्रणका लागि रु तीन करोड र सेती नदी नियन्त्रणका लागि रु तीन करोड छुट्याइएको छ ।
“नदी कटान र डुबानबाट जोखिममा रहेका क्षेत्रलाई सुरक्षित बनाउन नदी नियन्त्रणका कार्यक्रम अघि बढाएका छौँ । मर्स्याङ्दी, मादी र सेती नदी नियन्त्रणका लागि छुट्टाछुट्टै बजेट विनियोजन भएको छ”, आयोजना प्रमुख खत्रीले भने ।
पहिरो नियन्त्रणतर्फ गलेश्वरधाम–देवघाटधाम क्षेत्रका लागि रु तीन करोड विनियोजन गरिएको छ । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको देवघाट क्षेत्रको भौगोलिक जोखिम न्यूनीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गरिने उनले बताए । आयोजनाले नदी नियन्त्रणसँगै सतह सिँचाइ, लिफ्ट सिँचाइ तथा जलाशययुक्त सिँचाइका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । आयोजना प्रमुख खत्रीका अनुसार दरौदी तथा मर्स्याङ्दी नदी बेसिनमा सिँचाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु तीन करोड ७५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै, मर्स्याङ्दी, मादी, सेती, दरौदी, कालीगण्डकी–आँधीखोला, बूढीगण्डकी र त्रिशूली नदी बेसिन समेटिएको एकीकृत सिँचाइ विकास योजनाका लागि रु पाँच करोड बजेट छुट्याइएको छ ।
“सतह सिँचाइ, लिफ्ट सिँचाइ र जलाशययुक्त सिँचाइका संरचना निर्माण तथा सुधारमार्फत कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्य छ । विभिन्न नदी बेसिनलाई समेटेर एकीकृत रूपमा सिँचाइ विकासका कार्यक्रम सञ्चालन हुँदैछन्”, उनले भने ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसम्बन्धी संरचना निर्माण गर्दै आएको छ । आयोजना प्रमुख खत्रीका अनुसार दरौदी, दोर्दी तथा मर्स्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित र जोखिमयुक्त स्थान पहिचान गरी तटबन्धन, स्पर तथा रिभेटमेन्ट निर्माणका काम अघि बढाइन्छ । नदीले कटान गरेका स्थानमा जग्गा उकास गर्ने तथा नदीको बहावलाई व्यवस्थित गर्न आवश्यक संरचना निर्माणसमेत आयोजनाका कार्यक्रमभित्र रहेका छन् ।
नदी कटान तथा डुबानका कारण खेतीयोग्य जमिन, बस्ती तथा सार्वजनिक पूर्वाधार जोखिममा पर्ने भएकाले जोखिमयुक्त स्थानमा नदी नियन्त्रणका संरचना निर्माणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । त्यस्तै सिँचाइ संरचनाको निर्माण तथा सुधारबाट कृषि उत्पादनमा वृद्धि, खेतीयोग्य जमिनको उपयोग र किसानलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । नदी नियन्त्रण र सिँचाइ विकासलाई सँगसँगै अघि बढाउँदा एकातर्फ बाढी तथा कटानको जोखिम घटाउने र अर्कातर्फ नदीको पानीलाई कृषि उत्पादनमा उपयोग गर्ने आधार तयार हुने आयोजना प्रमुख खत्री बताउँछन् ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















