बाढी–पहिरोपीडितका लागि नेपाल आदिवासी जनजाति महासंघ महासंघको राहत अभियान, १८ हजार ५२१ दिराम संकलन

यूएईमा रहेका आदिवासी जनजाति समुदायका संस्थाहरू एकजुट, ६० प्रतिशत प्रधानमन्त्री राहत कोषमा र ४० प्रतिशत प्रत्यक्ष राहतमा
प्रवास दुबई, यूएई |
नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) यूएईले सञ्चालन गरेको राहत अभियानमा १८ हजार ५२१ दिराम संकलन भएको छ।
यूएईमा NEFIN सँग आबद्ध तथा यहाँ सक्रिय आदिवासी जनजाति समुदायका विभिन्न जातीय संस्थाहरूको सहयोगमा संकलित उक्त रकमलाई दुई भागमा विभाजन गरी राहत कार्यमा प्रयोग गरिने महासंघले जनाएको छ।
संकलित कुल रकममध्ये ६० प्रतिशत अर्थात् ११ हजार ११२.६० दिराम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ भने बाँकी ४० प्रतिशत अर्थात् ७ हजार ४०८.४० दिराम प्रत्यक्ष राहत वितरणका लागि छुट्याइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको रकमको प्रमाणसमेत महासंघले सार्वजनिक गरेको जनाएको छ। ११ हजार ११२.६० दिराम नेपाली रुपैयाँमा करिब ४ लाख ६१ हजार ९८१.४० रुपैयाँ बराबर हुन्छ। त्यस्तै, प्रत्यक्ष राहतका लागि छुट्याइएको ७ हजार ४०८.४० दिराम करिब ३ लाख ७ हजार ४४८.६० रुपैयाँ बराबर हो।
कुन संस्थाले कति सहयोग गरे ?
NEFIN UAE का अनुसार राहत अभियानमा विभिन्न जातीय संस्थाहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरेका छन्।
- – तमु समाज, यूएई – २,९८० दिराम
- – नेपाल मगर संघ शाखा, यूएई – १,२२२ दिराम
- – तामाङ समाज, यूएई – २,००० दिराम
- – किरात राई यायोक्खा शाखा, यूएई – १,५५० दिराम
- – किरात याक्थुङ चुम्लुङ, यूएई – ३,९०० दिराम
- – नेवा: पुच: यूएई – १,२२५ दिराम
- – थारु कल्याणकारिणी सभा, यूएई – २,२११ दिराम
- – प्रवासी भुजेल समाज सेवा समिति, यूएई – ६०८ दिराम
- – सुनुवार सेवा समाज शाखा, यूएई – १,८०० दिराम
- – कुमाल समाज, यूएई – ५२५ दिराम
- – कोच राजवंशी प्रवासी समाज, यूएई – ५०० दिराम
४० प्रतिशत रकम प्रत्यक्ष राहतमा
NEFIN UAE ले छुट्याएको ४० प्रतिशत रकम प्रभावित परिवारसम्म प्रत्यक्ष रूपमा पुर्याउने योजना बनाएको छ। महासंघका अनुसार यो रकम यूएईमा कार्यरत, NEFIN UAE मा आबद्ध तथा यूएईमा रहेका आदिवासी जनजाति जातीय संस्थाहरूसँग सम्बन्धित बाढी–पहिरो प्रभावित व्यक्तिहरूलाई प्रत्यक्ष ‘ह्यान्ड टु ह्यान्ड’ राहतका रूपमा वितरण गरिनेछ।
यसबाट विपद्का कारण तत्काल आर्थिक समस्या झेलिरहेका प्रभावित व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा राहत पुग्ने अपेक्षा गरिएको छ। राहत वितरणमा वास्तविक प्रभावित व्यक्तिको पहिचान तथा आवश्यकताको आधारलाई प्राथमिकता दिइने महासंघले जनाएको छ।
‘विपद्को समयमा समुदाय एक भएर उभिनुपर्छ’
राहत अभियानबारे NEFIN UAE का अध्यक्ष भागरथी कुमार भगतले नवलपुर टुडेलाई जानकारी दिँदै विपद्को समयमा यूएईमा रहेका आदिवासी जनजाति समुदायका संस्थाहरूले देखाएको एकता र सहयोग प्रशंसनीय रहेको बताउनुभयो।
उहाँका अनुसार बाढी तथा पहिरोले घरपरिवार र जनजीवन प्रभावित भएका बेला आफूहरू विदेशमा रहे पनि पीडित नेपालीको दुःखमा साथ दिनुपर्छ भन्ने भावनाका साथ राहत अभियान अघि बढाइएको हो।
“विपद्को समयमा कसले कति सहयोग गर्यो भन्नेभन्दा पनि पीडितको दुःखमा हामी कति साथ दिन सक्यौँ भन्ने महत्वपूर्ण कुरा हो,” अध्यक्ष भगतले बताउनुभयो।
उहाँले राहत अभियानमा सहयोग गर्ने सबै जातीय संस्था, पदाधिकारी, सदस्य तथा सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विपद् र मानवीय संकटका बेला सामूहिक रूपमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थागत सहयोगसँगै प्रत्यक्ष मानवीय सहयोग
NEFIN UAE ले राहत अभियानलाई केवल रकम संकलन गरेर कोषमा पठाउने अभियानका रूपमा मात्र नहेरी प्रभावित व्यक्तिसम्म प्रत्यक्ष सहयोग पुर्याउने प्रयासका रूपमा अघि बढाएको जनाएको छ।
संकलित रकमको ६० प्रतिशत सरकारी राहत कोषमा योगदान गर्नुका साथै ४० प्रतिशत रकम यूएईमा रहेका आदिवासी जनजाति समुदायसँग सम्बन्धित प्रभावित व्यक्तिलाई प्रत्यक्ष राहतका रूपमा वितरण गर्ने निर्णयले अभियानलाई थप लक्षित बनाएको महासंघको भनाइ छ।
यूएईमा रहेका विभिन्न जातीय संस्थाहरूबीचको सहकार्यले विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्मा समुदाय एकजुट भएर सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।
“सानो सहयोग, ठूलो आशा” भन्ने भावनाका साथ अघि बढाइएको यस अभियानले बाढी तथा पहिरो प्रभावित परिवारको पीडामा केही भए पनि मलम लगाउने विश्वास NEFIN UAE ले व्यक्त गरेको छ।









यूएईमा रहेका आदिवासी जनजाति समुदायका संस्थाहरू एकजुट, ६० प्रतिशत प्रधानमन्त्री राहत कोषमा र ४० प्रतिशत प्रत्यक्ष राहतमा












