देश

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

नवलपुर टुडे
२०८३ भदौ २६ | मध्यान्ह ०५:०५ बजे

काठमाडौँ, भदौ २६। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ ।

प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ ।

एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ । यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ्ने गरेकामा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताउनुभयो । उहाँका अनुसार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूले नागरिक एपबाटै प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन् ।

कमेन्टहरु