मणिपुरद्वारा म्यानमार सीमामा सन् २०२८ सम्म तारबार पूर्ण गर्ने लक्ष्य सार्वजनिक


नयाँ दिल्ली। भारतको पूर्वोत्तर राज्य मणिपुरले अशान्त सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने नयाँ दिल्लीको योजनाअनुसार म्यानमारसँगको सीमामा सन् २०२८ सम्ममा तारबार लगाउने काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।
मणिपुर र म्यानमारबीचको तीन सय ९८ किलोमिटर लामो सीमाक्षेत्रमध्ये हालसम्म करिब ५५ किलोमिटर भागमा मात्र तारबार लगाइएको छ। कठिन भूबनोट र प्राविधिक चुनौतीका कारण निर्माण कार्यमा ढिलाइ भएको राज्यका अधिकारीहरूले जनाएका छन्।
निक्केई एसियाका अनुसार सीमापार आवतजावत, उग्रवाद र तस्करी नियन्त्रण गर्ने भारतको व्यापक प्रयासअन्तर्गत यो तारबार निर्माण भइरहेको छ। भारत र म्यानमारलाई जोड्ने प्रमुख व्यापारिक नाका मोरेह वरपरको क्षेत्रमा यो आयोजना विशेष रूपमा महत्त्वपूर्ण मानिएको छ। सीमाङ्कन हुन बाँकी रहेका भूभागसहित अन्य क्षेत्रहरूमा पनि काम निरन्तर जारी रहेको अधिकारीहरूले बताएका छन्।
दुवै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायबीच वर्षौँदेखि जातीय तथा सामाजिक सम्बन्ध रहँदै आएको छ। भारतको पूर्वोत्तर क्षेत्रमा निर्माण भइरहेको यो संरचनाले सीमावर्ती क्षेत्रको आवतजावत र व्यापारिक ढाँचालाई थप परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ।






















