देश

बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण

रासस
२०८३ भदौ २४ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद कृष्णबहादुर रोकायले रसुवा र भोटेकोसी क्षेत्रमा गएको बाढीबाट बालबालिका, गर्भवती तथा ज्येष्ठ नागरिकलगायत अशक्त र जोखिममा रहेका समूह बढी प्रभावित भएको बताए ।  उनीहरूलाई लक्षित गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न उनको माग छ  ।

सांसद घनश्याम रिजालले विपद्का समयमा उद्धार, राहत र पुनःस्थापनाका काम प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको बताए ।

जोखिममा रहेका हिमतालमा पूर्वसूचना प्रणाली जडान गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद पदमबहादुर परिवारले कृष्णभीरमा पहिरो गएको दुई साताभन्दा बढी समय भइसके पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको बताए ।

उनले काठमाडौं–नुवाकोट आवागमनलगायत सडक सम्पर्कमा देखिएका समस्याको स्थायी समाधान खोज्नुपर्ने र हवाई यातायातको भाडा महँगिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद पूजा चौधरीले सामाजिक सञ्जालमार्फत भोटेकोसी बाढीपीडित महिलालाई तथानाम गालीगलौज तथा दुर्व्यवहार गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरिन् ।

सांसद रुक्मिणी कोइरालाले बाढीपीडितलाई छिटोभन्दा छिटो राहत वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् ।

सांसद विष्णुकुमारी सापकोटाले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै सहज आपूर्ति तथा वितरणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विष्णुदेवी पुडासैनीले पनि बाढीपीडितलाई अत्यावश्यक सामग्री समयमै पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गरिन् ।

कमेन्टहरु