पुरानै बहावमा बग्न थाल्यो किम्रुङ खोला


पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोला आफ्नै पुरानै गतिमा बग्न थालेको छ । मंगलबार साँझ पानीको बहाव कम भएपछि स्थानीयले प्रशासनलाई खबर गरेका थिए ।
बुधबार बिहानसम्म खोला पहिले कै गतिमा बग्न थालेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का वडाअध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । खोला थुनिएको खबरपछि गाउँपालिकाले किम्रुङखोला र मोदीखोला तटीय क्षेत्रमा सतर्कता अपनाउन मंगलबार साँझ माइकिङ गरेको थियो ।
किम्रुङखोलाको पानीको बहाव कम भएपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहितको टोली वीरेठाँटी पुगेको थियो । किम्रुङखोला मोदी नदीमा आएर मिसिन्छ । मोदी नदी कास्की र पर्वतका वीरेठाँटी, नयाँपुल हुँदै बग्छ ।
गत असार २८ गते सोही खोलामा बाढी आएपछि घान्द्रुक जाने सडकसहित पुल र होटेल बगाएको थियो । अहिले नदी किनारामा तटबन्ध गर्ने काम चलिरहेको छ । पहिरोले थुनिएको ठाउँमा बाटो बगाएका कारण जान सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।






















