सर्वोत्तम सिमेन्टद्वारा रसुवा बाढीपीडितका लागि १ करोड ११ लाख आर्थिक सहयोग


नवलपरासी, भदौ २३ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि पश्चिम नवलपरासीको सुनवलमा उद्योग रहेको सर्वोत्तम सिमेन्टले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सर्वोत्तम सिमेन्टका सञ्चालकहरू दिवस न्यौपाने, शशी न्यौपाने, विमल सवर्थिया र तेन्जिङ तामाङसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ।
चेक हस्तान्तरण कार्यक्रममा सञ्चालक शशी न्यौपानेले विपद्को समयमा पीडित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले विपत्तिमा सरकारको प्रयासलाई सहयोग पुर्याउन निजी क्षेत्र पनि आफ्नो तर्फबाट योगदान गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
पश्चिम नवलपरासीको सुनवलमा आफ्नो उद्योग सञ्चालन गरिरहेको सर्वोत्तम सिमेन्टले यसअघि पनि महाभूकम्प, कोरोना महामारीलगायतका विभिन्न विपत्तिका समयमा आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ ।
तस्बिर : चेक हस्तान्तरण























