प्रबास

अमेरिकासँग अहिले कुनै वार्ता हुँदैन : क्युबा

एजेन्सी
२०८३ भदौ २३ | बिहान १०:०५ बजे

हाभाना । क्युबाले अमेरिकासँग अहिले कुनै वार्ता भइ नरहेको र भविष्यमा वार्ताका लागि पनि कुनै एजेन्डा तय नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबामाथि आर्थिक दबाब बढाइरहेका बेला क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै रोड्रिग्वेजले क्युबा र अमेरिकाबीच हाल कुनै वार्ता नरहेको स्पष्ट पारे । उनका अनुसार यसअघि भएका सम्पर्कसमेत अहिले रोकिएका छन् ।

क्युबाली सरकारका अनुसार दशकौँदेखि जारी अमेरिकी प्रतिबन्धका कारण मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्म क्युबाको अर्थतन्त्रमा ८ अर्ब डलर बराबरको क्षति पुगेको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो वार्षिक क्षति भएको र अघिल्लो रिपोर्टिङ अवधिको तुलनामा ७ प्रतिशत बढी रहेको क्युबाको दाबी छ । पछिल्ला केही महिनामा अमेरिकी प्रतिबन्धका कारण क्युबाको ऊर्जा संकट झन् गम्भीर बनेको रोड्रिग्वेजले बताए । उनका अनुसार कतिपय स्थानमा मानिसहरूले दिनमा दुई–तीन घण्टा मात्र बिजुली पाउने वा त्योभन्दा पनि कम समय विद्युत् उपलब्ध हुने अवस्था छ ।

अमेरिकी नीतिलाई सामूहिक सजायको संज्ञा दिँदै क्युबामाथि आर्थिक र ऊर्जा क्षेत्रमा दबाब बढाइएको आरोप रोड्रिग्वेजले लगाए । अमेरिकी नाकाबन्दीलाई ‘नरसंहारकारी’ भन्दै क्युबा अमेरिकाका लागि खतरा नभएको दाबी पनि उनले गरे । यसैबिच, क्युबा–अमेरिका विवादको अर्को चरण संयुक्त राष्ट्रसंघमा देखिने भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर २७ र २८ मा अमेरिकी प्रतिबन्ध अन्त्य गर्न माग गर्ने क्युबाको वार्षिक प्रस्तावमाथि छलफल गर्नेछ ।

कमेन्टहरु