अमेरिकामा बम्बार्डियर जेट बिक्रीमै प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी


वाशिङट्न डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको विमान निर्माता कम्पनी बम्बार्डियरका जेट विमान अमेरिकामा बिक्री गर्न प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । सोमबार ट्रम्पले बम्बार्डियरले अमेरिकी बजारमा आफ्नो विमान बेच्न चाहे अमेरिकामै उत्पादन गर्नुपर्ने बताएका हुन् ।
क्यानडाले अमेरिकी सामानमा करिब २० अर्ब डलर बराबरको प्रतिरोधात्मक कर लगाउने तयारी गरिरहेका बेला ट्रम्पको यो चेतावनी आएको हो । क्यानडाले मंगलबार बिहान १२ः०१ बजेबाट नयाँ कर लागू गर्ने तयारी गरेको छ ।
नयाँ करअन्तर्गत अमेरिकी स्टिल र एल्युमिनियममा लाग्दै आएको कर दोब्बर भएर ५० प्रतिशत पुग्नेछ । त्यस्तै, कागजका उत्पादन, निर्माण सामग्री, घरेलु उपकरण र कृषि उत्पादनमा पनि थप कर लगाइनेछ । अमेरिका र क्यानडा लामो समयदेखि एकअर्काका प्रमुख व्यापारिक साझेदार हुन् । तर, पछिल्लो समय दुई देशबिचको व्यापार विवाद तीव्र रूपमा बढ्दै गएको छ । गत महिना व्यापार वार्ता अन्तिम समयमा भंग भएपछि अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच आरोप–प्रत्यारोपसमेत चर्किएको छ ।
ट्रम्पले यसअघि क्यानडाका उत्पादनमाथि थप शुल्क लगाउने चेतावनी दिँदै आएका थिए। उनले जनवरी १ देखि अमेरिकी अटोमोबाइलमाथिको कर ५० प्रतिशतसम्म पुर्याउने धम्कीसमेत दिएका छन् । बम्बार्डियरले भने अमेरिकामा आफ्नो महत्त्वपूर्ण उत्पादन उपस्थिति रहेको जनाएको छ। कम्पनीका अनुसार उसले अमेरिकामा आफ्नो विस्तार जारी राखेको छ र अमेरिकी एयरोस्पेस उद्योगमा योगदान गर्दै दशौँ हजार रोजगारी सिर्जना गरिरहेको छ ।
क्यानडाका प्रधानमन्त्री कार्नीले पनि अमेरिकाबाट आउने थप व्यापारिक कदमको जवाफ क्यानडाले दिने संकेत गर्दै आएका छन् । क्यानडाको सरकारले अमेरिकी प्रशासनमाथि राजनीतिक दबाब सिर्जना गर्ने उद्देश्यले आफ्ना प्रतिरोधात्मक कदमहरू लक्षित रूपमा अघि बढाइरहेको जनाएको छ ।






















