समाज

थेराङ खोलासहित बूढीगण्डकी नदीमा आएको बाढीले पुल र जलविद्युत्‌मा क्षति

नवलपुर टुडे
२०८३ भदौ २१ | मध्यान्ह १२:०५ बजे

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट  चुमनुब्रीवासी समस्यामा परेका छन् ।

पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए ।

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ । उक्त बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जंगलस्थित पुल पनि बगाएको जनाइएको छ ।

“बाढीपहिरोले हामीलाई जोखिममा पार्‍यो,” उनले भने, “गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्योे । कतै जान पनि नमिल्ने भयो ।”

साथै, स्थानीयले उपभोग गर्दै आएका दुई लघुजलविद्युत् आयोजनामा  क्षति पुर्‍याएको उनले बताए । उनले भने, “एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत् थियो, त्यो पनि लग्यो । अर्को पहिल्यैदेखि बालिरहेको २२ किलोवाटको जलविद्युत् थियो, त्यो पनि नामेट पारेर लग्यो । आवातजावत र विद्युत् ठप्प हुँदा जनजीवन समस्यामा परेको छ ।”

विद्युत् नहुँदा बत्ती, सञ्चार सेवा तथा बिजुलीबाट चल्ने सबै सेवा ठप्प भएको छ । पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित भएको छ ।

लार्केपासका निम्ति गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा समस्यामा परेका छन् । पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाको घर बगाएको प्रहरीले जनाएको छ ।

बाढीले स्थानीय नुर्वु ओंग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

“भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ, सबै बिउँझिएछन् । अनि, बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,” वडाअध्यक्ष पेमाग्याल्बो लामाले भने, “नत्र सबैलाई बढारेर लैजान्थ्यो ।”

बाढीपीडित चार घरपरिवारलाई तत्काल अल्पकालीन राहत दिइने लामाले बताए । “घरको केही पनि जोगिएन, त्यसैले तत्काल आज नै खाद्यान्न र लुगाकपडाका लागि २० हजार रुपैयाँका दरले राहत दिन्छौँ,” उनले भने, “केही दिनमा गाउँपालिकाका तर्फबाट एक लाखबराबरको राहत दिनेछौँ ।”

अन्यत्रबाट आउने राहतका निम्ति पनि पहल गर्ने उनले बताए ।

कमेन्टहरु