समाचार, समाज

खाजा खर्चबाट विपद् पीडितलाई सहयोग गर्दै भिमोदय नमुना माविका विद्यार्थी

नवलपुर टुडे
२०८३ भदौ २० | मध्यान्ह ०६:०५ बजे

पदमपुर । पदमपुरस्थित भिमोदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विपद्मा परेका नागरिकको सहयोगका लागि आफ्नै खाजा खर्च तथा व्यक्तिगत बचतबाट रकम संकलन गरेका छन्। विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग रकम जुटाएका हुन्।

विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट समेत उत्साह र खुसीका साथ सहयोग गरेका थिए। कक्षा १२ विज्ञानका विद्यार्थी आराधना गुप्ता, करुणा चौधरी, मञ्जिषा अधिकारी र सञ्जिता केसीको नेतृत्वमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानबाट संकलित २७ हजार १ सय ७० रुपैँया रकम विद्यार्थी प्रतिनिधिहरूले विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेल, स्काउट शिक्षक सुशील कोइराला तथा जुनियर रेडक्रस शिक्षक प्रतिनिधि अजय चौधरीलाई हस्तान्तरण गरेका थिए।

विद्यालयले विद्यार्थीहरूबाट संकलित सहयोग रकम कृषि विकास बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको  छ। विपद्का समयमा विद्यार्थीहरूले देखाएको यो पहलले मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र एकताको भावना बलियो बनाउन योगदान पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यार्थीहरूको सराहनीय पहल, उत्साह र मानवीय भावनाप्रति विद्यालय प्रशासन र शिक्षकहरुले विद्यार्थीहरूमा धन्यवाद व्यक्त समेत गरेका थिए ।

789423677 2011027616282912 8253762830414771708 n e1788612766524

कमेन्टहरु