खेलकुद, दुबई यूएई, देश, प्रबास, बिश्व
यूएईमा नेपाली प्रिमियर लिग हुदै : चार टोलीसहित ‘NPL UAE’ को पहिलो संस्करण


प्रवास दुबई, यूएई |
यूएईमा नेपाली क्रिकेटलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र समुदायसँग जोड्ने उद्देश्यसहित Nepalese Premier League of UAE (NPL UAE) Season-1 आयोजना हुने भएको छ।
NPL UAE का RSVP ड्यान परियारले नवलपुर टुडेलाई जानकारी दिएअनुसार, प्रतियोगिता सेप्टेम्बर ५ देखि क्रमसः १२, १९ र २६ तारिक २०२६ सम्म प्रत्येक शनिबार Farhan Cricket Ground, Al Bataeh, Sharjah मा सञ्चालन हुनेछ। पहिलो संस्करणमा यूएईमा रहेका चार नेपाली क्रिकेट क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
चार टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा प्रतियोगितामा सहभागी हुँदैछन्।
- Nepalese Cricket Club (NCC-Hard Hitters)
- GCD Gorkhali Rhinos Cricket Club
- Everest Warriors Abu Dhabi Cricket Club
- Nepal Titans Cricket Club
प्रत्येक टोलीमा १७ खेलाडीको स्क्वाड रहनेछ। प्रतियोगिताको नियमअनुसार प्रत्येक खेलको Playing १२ मा कम्तीमा ९ नेपाली खेलाडी अनिवार्य गरिएको छ भने बढीमा ३ अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुन पाउनेछन्।
आयोजकका अनुसार यस व्यवस्थाले नेपाली खेलाडीको सहभागिता बढाउनुका साथै नयाँ तथा उदीयमान प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।
सात खेलपछि ग्रान्ड फाइनल
NPL UAE Season 1 मा कुल ७ खेल हुनेछन्, जसमा ६ लिग खेल र एक ग्रान्ड फाइनल रहनेछ। लिग खेलहरू प्रत्येक शनिबार राति ९ बजे र ११ः५९ बजे सञ्चालन हुनेछन्।
प्रतियोगिताको ग्रान्ड फाइनल सेप्टेम्बर २६ मा हुनेछ। सोही दिन साँझ ६ बजेबाट समापन समारोह सुरु हुनेछ। फाइनलपछि उत्कृष्ट खेलाडी तथा विजेता टोलीलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ।
विजेतालाई ५ हजार दिराम
पहिलो संस्करणको च्याम्पियन टोलीले AED 5,000 नगद पुरस्कार, विशेष ट्रफी र पदक प्राप्त गर्नेछ। उपविजेताले AED 2,000 नगद पुरस्कार तथा पदक प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेन्ट, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डरलगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।
दर्शकका लागि निःशुल्क बस सेवा
क्रिकेटप्रेमीलाई मैदानसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले आयोजकले बरदुबई, अलकुज र सोनापुरबाट फरहान क्रिकेट ग्राउन्डसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
RSVP ड्यान परियारका अनुसार “नेपाली क्रिकेटप्रेमी, परिवार तथा यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई प्रतियोगितामा उपस्थित भई खेलाडी तथा टोलीलाई हौसला प्रदान गर्न आग्रह गरिएको छ।”
नेपाली क्रिकेटको विकासमा नयाँ पहल
आयोजकले NPL UAE लाई केवल क्रिकेट प्रतियोगिताका रूपमा नभई नेपाली क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान र नेपाली समुदायबीचको सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण मञ्चका रूपमा अघि बढाउने लक्ष्य राखेको जनाएको छ। प्रतियोगितालाई GCD Group of Companies ले Title Sponsor तथा Al Fardan Exchange ले Platinum Sponsor का रूपमा साथ दिएका छन्। विभिन्न व्यवसाय तथा संस्थाहरूले समेत प्रतियोगितालाई सहयोग गरेका छन्।
“Unifying Nepalese Cricket. Celebrating Talent. Building the Future.” भन्ने नारासहित आयोजना हुन लागेको NPL UAE को पहिलो संस्करणले यूएईमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।






















