पहिरोपीडित क्षेत्रका लागि चीनको सिजाङद्वारा नेपाललाई दुईवटा बेलीब्रिजसहितका राहत सामग्री हस्तान्तरण


काठमाडौँ । नेपालका पहिरो प्रभावित क्षेत्रहरूमा आवागमन सुचारु गर्न तथा खोज र उद्धार कार्यलाई तीव्रता दिन चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रले नेपाललाई आकस्मिक राहत सामग्री हस्तान्तरण गरेको छ।
शिगात्सेस्थित रिजी बन्दरगाहमा औपचारिक रूपमा हस्तान्तरण गरिएका ती सामग्रीहरूमा विशेष गरी दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने बेली प्यानल, सुदृढ सस्पेन्सन रड, सपोर्ट फ्रेम, डेकिङ र आई-बिम लगायतका उपकरणहरू रहेका छन्।
यी सामग्रीले बाढी-पहिरोका कारण अवरुद्ध भएका प्रमुख सडक सञ्जाल पुनः जोड्न महत्त्वपूर्ण सहयोग पुर्याउनेछ।

सामग्री हस्तान्तरणका क्रममा सीमा बन्दरगाहमा चिनियाँ र नेपाली दुवै भाषामा लेखिएको “साझा हिमाल, साझा नदी—सुखदुःखमा सधैँ साथ: सिजाङ नेपालको सहयोगमा तत्पर” शीर्षकको ब्यानर प्रदर्शन गरिएको थियो।
उक्त सन्देशले प्राकृतिक विपत्तिको यस कठिन घडीमा दुई देशका जनताबीचको प्रगाढ ऐक्यबद्धता तथा आपसी सहयोगको भावनालाई स्पष्ट रूपमा उजागर गरेको छ।
यसै सन्दर्भमा ल्हासास्थित सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालय र नेपाली महावाणिज्य दूतावासबीच पनि एक औपचारिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल सरकारको तर्फबाट उक्त हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका हुन्।
हस्तान्तरण समारोहमा नेपाली पक्षले विपद्लगत्तै चीनले देखाएको द्रुत तत्परता र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ।
साझा हिमाल र नदीनालाले जोडिएका दुई मुलुकबीचको यो सहयोगले विपत्तिको समयमा एकअर्कालाई साथ दिने घनिष्ट मित्रतालाई दर्शाएको र साझा भविष्यसहितको चीन-नेपाल समुदाय निर्माणको भावनालाई व्यावहारिक रूप दिएको उल्लेख गरिएको छ।






















