Opens in a new tab

चीनले दोस्रो चरणको मानवीय सहायता पठाइयो, पाँच थप विशेषज्ञ उद्धारमा खटिने

एजेन्सी

29Shares
dida bag ad

चीनले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि दोस्रो चरणको आपत्कालीन मानवीय सहायता पठाएको छ ।

चीनको जनमुक्ति सेनाको वायुसेनाको वाई–२० विशाल ढुवानी विमानमार्फत मंगलबार चीनको दक्षिणी ग्वाङडोङ प्रान्तस्थित सेन्जेनबाट सहायता सामग्री काठमाडौं पठाइएको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सहायता सामग्री बोकेको विमान मंगलबार दिउँसो सेन्जेनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो । विमानमा सेन्जेनका पाँच जना विशेषज्ञसमेत सहभागी छन्, जसले नेपालमा उद्धार तथा राहत कार्यमा सहयोग गर्नेछन् ।

चीनको वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार यो नेपाललाई पठाइएको चिनियाँ सरकारको दोस्रो चरणको सहायता हो । करिब ५.८ टन तौलको उक्त सामग्रीमा तत्काल आवश्यक पर्ने पानी शुद्धीकरण उपकरण, प्रकाशसम्बन्धी उपकरण, आनुवंशिक परीक्षण उपकरण र ड्रोन समावेश छन् ।

नेपालमा पहिरो तथा बाढीबाट ठूलो क्षति भएपछि थप आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने चिनियाँ प्रयासअन्तर्गत उक्त सामग्री पठाइएको हो । चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय, भन्सार प्रशासन र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच समन्वय गरी आवश्यक सामग्री तत्काल जुटाइएको थियो ।

सामग्री विमानस्थलसम्म पुर्‍याउन अधिकारीहरूले रातारात काम गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

सेन्जेन पाओआन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले राहत सामग्रीका लागि तत्काल ‘ग्रीन च्यानल’ सञ्चालन गरेको थियो । त्यसअन्तर्गत छुट्टै कर्मचारी परिचालन, कागजातको अग्रिम जाँच तथा निरीक्षण प्रक्रिया सरल बनाइएको थियो ।

विमानस्थलले सुरक्षा जाँच, सामान लोड–अनलोड तथा प्यालेट व्यवस्थापनका लागि विशेष कार्यदलसमेत गठन गरेको थियो । छुट्टै प्रस्थानमार्गमार्फत राहत सामग्रीलाई विमानस्थलमा आइपुग्नेबित्तिकै प्राथमिकता प्राप्त लोडिङ क्षेत्रमा पुर्‍याइएको पनि चिनियाँ संचारमाध्यमले जनाएका छन् ।