इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति


काठमाडाैँ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिएका छन्। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाब, नौसैनिक निगरानी तथा हर्मुजको जलघाँटी हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढाउने रणनीति अघि बढाएको छ।
‘एक्सियोस’ का अनुसार ट्रम्प प्रशासनले ठुलो सैन्य कारबाहीमा फर्किनुको सट्टा इरानको अर्थतन्त्रलाई कमजोर बनाउने रणनीतिलाई प्राथमिकता दिएको हो। यद्यपि इरानले पहिले आक्रमण गरेमा सैन्य विकल्प खुला राखिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। वासिङ्टनले इरानको तेल निर्यातमा गिरावट आएको र हर्मुजमार्फत अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्ने तेहरानको क्षमता कमजोर भएको दाबी गरेको छ ।
यसैबिच इरान र ओमानबिच हर्मुज जलघाँटीमा पारवहन व्यवस्थापनबारे वार्ता भएको छ। दुवै पक्षले अस्थायी नौवहन मार्ग स्थापना गर्ने तथा समुद्री खानी हटाउन संयुक्त प्रयास गर्ने सहमति गरेका छन्। यद्यपि सामान्य व्यावसायिक ढुवानी अझै ठूलो मात्रामा प्रभावित छ। मङ्गलबार ओमाननजिकै एउटा तेल ट्याङ्करमा अज्ञात प्रक्षेप्य प्रहार भएको पनि जनाइएको छ।
अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नभए पनि ब्याक च्यानलमार्फत कूटनीतिक प्रयास जारी रहेको बताइएको छ । पाकिस्तानी सेनाप्रमुख असीम मुनीर इरानी नेतृत्वसँग वार्ताका लागि तेहरान पुगेका छन्। यसैबिच वासिङ्टनले मध्यपूर्वका केही कूटनीतिक नियोगमा कर्मचारी पुनः परिचालन गर्न थालेको छ। यसलाई तत्काल ठुलो सैन्य विस्तारको जोखिम कम भएको अमेरिकी आकलनका रूपमा हेरिएको छ।






















