बाढी/पहिरो, समाचार, समाज

भोटेकोशी बाढीको जोखिमपछि नवलपरासीका सुस्ताबासीलाई सुरक्षित स्थानमा सारिँदै

नवलपुर टुडे
२०८३ भदौ १० | मध्यान्ह ०३:०५ बजे

नवलपरासी । तिब्बतबाट आएको भोटेकोशी नदीमा आएको भीषण बाढीको असर नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा पर्न सक्ने जोखिम बढेपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । बाढीको सबैभन्दा बढी असर सुस्ता गाउँपालिका–५, सुस्ता गाउँमा पर्न सक्ने आकलन गर्दै नदीपारि रहेको सुस्ताका बासिन्दालाई वारि ल्याउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

नदीपारि रहेको थारु टोल लगायतका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार नदीपारिका बासिन्दालाई वारी ल्याएर एक विद्यालयमा अस्थायी आश्रयस्थलको व्यवस्था गरिएको छ । उनका अनुसार हालसम्म करिब ७० प्रतिशत बासिन्दा सुरक्षित स्थानमा आइसकेका छन् ।

‘पारि सुस्ताका सबै बासिन्दालाई वारी ल्याएर विद्यालयमा राख्ने तयारी गरिएको छ । अहिलेसम्म करिब ७० प्रतिशत मानिस सुरक्षित स्थानमा आइसकेका छन्,’ प्रमुख जिल्ला अधिकारी नेपालले भने । उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका सबै तयारी पूरा गरिएको छ भने सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको छ ।

नारायणी नदीमा चितवनतर्फबाट पानीको बहाव बढेपछि त्यसको असर सुस्ता क्षेत्रमा करिब दुई घण्टामा पर्न सक्ने भएकाले अवस्थाको निरन्तर मूल्यांकन भइरहेको प्रशासनले जनाएको छ । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले नदीपारि रहेका बासिन्दालाई धमाधम वारी सार्ने काम भइरहेको बताए । उनका अनुसार सुस्तामा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीसमेत परिचालन भइसकेको छ ।

कमेन्टहरु