बाउन्नकोटी सामुदायिक वनको रजत महोत्सवमा विविध कार्यक्रम

तिलोत्तमा, भदौ ९ । बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव–२०८३ विविध कार्यक्रमसहित मनाउने भएको छ। समूहले मंगलबार पत्रकार सम्मेलन गरी फरक–फरक दिनमा नौवटा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो।
कार्यक्रमअन्तर्गत बुधबार वृक्षरोपण, भदौ १४ गते अन्तरक्रिया, १६ गते आँखा शिविर, २० गते साइकल दौड प्रतियोगिता, २३ गते वडाभित्रका ११ विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता, २४ गते आश्रममा भोजन कार्यक्रम, २५ गते तीजगीत प्रतियोगिता र असोज १ गते भलिबल प्रतियोगिता आयोजना गरिने वनका सहसचिव तथा कार्यक्रम संयोजक श्याम बस्यालले जानकारी दिनुभयो।
वनका अध्यक्ष ताराप्रसाद छन्त्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उहाँले बाउन्नकोटी वनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महोत्सवअन्तर्गतका कार्यक्रम प्रचारप्रसारको महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताका विषयवस्तु वन तथा वातावरणसँग सम्बन्धित रहने बताउँदै अध्यक्ष छन्त्यालले वनभित्र रहेका नन्द–भाउजू ताल, पिकनिक स्पट र बाल उद्यानलाई थप व्यवस्थित र आकर्षक बनाउने योजनासहित वन समूह अघि बढिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा वनका उपाध्यक्ष लक्ष्मण भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव दुर्गी कुमारी रानाले गर्नुभएको थियो।






















