इरानसँगको आफ्नो सहकार्यमा खलल नपुर्याउन अमेरिकालाई चीनको चेतावनी


काठमाडौँ। चीनले मंगलबार अमेरिकालाई चेतावनी दिएको छ। अमेरिकाले इरानसँग कारोबार गर्ने वा आर्थिक सहायता दिने देशलाई गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएपछि चीनले पनि इरानसँग आफूले गर्दै आएको सहकार्यमा अवरोध नगर्न अमेरिकासहित सम्बन्धित पक्षलाई चेतावनी दिएको हो।
आर्थिक युद्ध र अधिकतम दबाबको नीतिले समस्या समाधान नगर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार नियमित पत्रकार सम्मेलनमा बताएका थिए ।
चीन र इरानबिचको आर्थिक तथा व्यापारिक सहकार्य अन्तर्राष्ट्रिय कानुनको दायराभित्र हुँदै आएको दाबी गर्दै त्यसलाई अवरोध वा कमजोर पार्न नहुने लिनले बताए।
चीनले पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको र आफ्नो अधिकार तथा हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै कदम चाल्ने चेतावनीसमेत उनले दिए । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानबाट तेल खरिद गर्ने देशहरूमाथि कडा आर्थिक कारबाही गर्ने सङ्केत दिएका थिए । उनले इरानको तेल व्यापारलाई लक्षित गर्दै अर्थतन्त्र ध्वस्त बनाउने दिवस ‘इकोनोमिक डी–डे’को ल्याइने बताएका थिए ।
सन् २०२५ को सेप्टेम्बरमा इरानले ३.९ देखि ४.२ अर्ब डलर बराबरको तेल निर्यात गरेको थियो । त्यसको ठुलो हिस्सा विश्वकै सबैभन्दा ठुलो ऊर्जा उपभोक्ता चीनले खरिद गर्न गरेको थियो।
अमेरिकी प्रतिबन्धको प्रभाव चीनका लागि ऊर्जा सुरक्षामा समेत पर्न सक्ने देखिएको छ। नोमुराको अप्रिलमा प्रकाशित प्रतिवेदनअनुसार चीनमा आयात हुने तेलको करिब ३८ प्रतिशत र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को २३ प्रतिशत स्ट्रेट अफ हर्मुज भएर आउँछ । तर इरानसँगको युद्धका कारण अहिले यो जलडमरू संवेदनशील क्षेत्र बनेको छ।






















