२ लाख भिसा रद्द गर्दैछ ट्रम्प प्रशासन, को–को पर्लान् निशानामा ?


वाशिङटन डीसी । अमेरिकाले व्यापार देखि पर्यटनसम्म २ लाख भिसा खारेज गर्ने तयारी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्व प्रशासनले अमेरिकामा शरणका लागि आवेदन दिएका वा शरण खोजिरहेका २ लाखसम्म विदेशी नागरिकको व्यापार तथा पर्यटक भिसा रद्द गर्ने तयारी गरेको हो ।
यो कदम कार्यान्वयन भए अमेरिकी इतिहासमै एकैपटक सबैभन्दा धेरै भिसा रद्द गरिएको घटना बन्ने फ्रान्सेली सञ्चार माध्यम एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका दस्ताबेज र दुई जना अमेरिकी अधिकारीसँगको कुराकानीलाई उद्धृत गर्दै एपीलेसोमबार यस्तो जानकारी दिएको हो ।
‘छोटो अवधिका लागि पर्यटकका रूपमा अमेरिका छिरेपछि स्थायी रूपमा बस्न शरण आवेदन दिने विदेशी नागरिकको गैरआप्रवासी भिसा पहिचान गरी रद्द गर्न हामी डीएचएससँग समन्वय गरिरहेका छौँ,’ विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले भने । एपीले उद्धृत गरेका अधिकारीहरूका अनुसार भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई स्वतः देशनिकाला गरिने छैन । बरु, शरणसम्बन्धी मुद्दा विचाराधीन रहेका अधिकांश व्यक्तिलाई अर्को आप्रवासन श्रेणीमा सारिनेछ ।
यस क्रममा उनीहरूको व्यापार वा पर्यटकको हैसियत भने हटाइनेछ । अमेरिकी विदेश उपमन्त्री क्रिस्टोफर ल्यान्डाउले सोमबार सामाजिक सञ्जालमा पर्यटक तथा व्यापार भिसा प्रयोग गरेर अमेरिका प्रवेश गरेपछि शरणका लागि आवेदन दिने मानिसको आलोचना गरेका छन् । ‘अमेरिका र विश्वभरका मानिसहरू झुटा शरण दाबीबाट आजित भइसकेका छन्,’ ल्यान्डाउले एक्समा लेखेका छन् ‘शरण व्यवस्था आप्रवासन कानुन छल्ने बाटोका रूपमा प्रयोग गरिनु हुँदैन,’ ।
राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता उनको प्रशासनले भिसा आवेदकमाथि निरन्तर कडाइ गर्दै आएको छ । आवेदकको सामाजिक सञ्जालसम्बन्धी थप विवरण माग्ने, भिसा प्रक्रियाका लागि महँगो धरौटी राख्नुपर्ने व्यवस्था गर्ने र केही देशका नागरिकलाई भिसा जारी गर्नै रोक्ने जस्ता कदम प्रशासनले अघि बढाएको छ । पछिल्लो १८ महिनामा अमेरिकी विदेश मन्त्रालयले करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको छ ।
मदिरा सेवन गरी सवारी चलाएकोदेखि बलात्कार र डकैतीसम्मका अपराधमा दोषी ठहरिएका वा आरोप लागेका व्यक्तिका साथै अमेरिकी नीतिविरुद्ध सार्वजनिक रूपमा बोलेका व्यक्तिका भिसा पनि रद्द गरिएको मन्त्रालयले जनाएको छ । यसको निशानामा विशेषगरी पश्चिम एशियासम्बन्धी अमेरिकी नीतिको आलोचना गर्नेहरू परेका छन् ।






















