मधेस प्रदेश सरकारद्वारा प्रहरीलाई १२ पिकअप हस्तान्तरण


जनकपुरधाम । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरेको छ ।
मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका लागि एक/एक वटा, सर्लाहीका लागि दुई वटा सवारीसाधन प्रदान गरेको हो । यस्तै, रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयका लागि एक/एक गरी १२ वटा पिकअप हस्तान्तरण गरेको हो ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेशको शान्ति, सुरक्षा तथा नागरिकको जीउधनको संरक्षण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताए ।
प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनु प्रदेश सरकारको दायित्व र प्राथमिकता भएको उनको कथन थियो ।
“प्रहरीको क्षमता अभिवृद्धि र स्रोतसाधन सुदृढीकरणका लागि मन्त्रालयको सहयोग निरन्तर रहनेछ”, मन्त्री महतोले भने। उनले मन्त्रालयले यसअघि पनि प्रहरीका लागि सवारीसाधन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिँदै आगामी दिनमा सहयोग निरन्तर रहने जानकारी दिए ।
प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रदेश सरकारले उपलब्ध गराउँदै आएको सवारीसाधनलगायत स्रोतसाधनले शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सहयोग पुगेको बताए।
मन्त्रालयका स्टोर शाखाका अधिकृत अविनिशकुमार मिश्रका अनुसार हस्तान्तरण गरिएका १२ वटा पिकअपको मूल्य भ्याटसहित रु चार करोड ६८ लाख ६० हजार रहेको छ ।
यसैगरी, केही दिनपछि प्रहरीले गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले मन्त्रालयले ७० वटा मोटरसाइकल हस्तान्तरण गर्ने तयारी गरिरहेको योजना शाखाका अधिकृत राधेश्यामप्रसाद पालले जानकारी दिए।
कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव डा विन्देश्वरप्रसाद लेखकको सहभागिता थियो ।






















