इरानद्वारा तेहरान नजिकै नयाँ ग्यास भण्डार फेला परेको दाबी


तेहरान । पश्चिम एसियामा तनाव जारी रहेका बेला इरानले २०० अर्ब घनमिटरभन्दा बढी क्षमताको नयाँ प्राकृतिक ग्यास भण्डार फेला पारेको घोषणा गरेको छ।
इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार राज्य टेलिभिजनमार्फत दक्षिणी फार्स प्रान्तमा नयाँ ग्यास भण्डार भेटिएको जानकारी दिएका हुन्।
उनका अनुसार उक्त क्षेत्रमा रहेको ग्यासमध्ये १६० अर्ब घनमिटरभन्दा बढी उत्खननयोग्य छ। यो ग्यास क्षेत्रबाट १५ वर्षसम्म दैनिक २८ करोड घनमिटरभन्दा बढी अर्थात् करिब १ अर्ब घनफुट प्राकृतिक ग्यास उत्पादन गर्न सकिने पाकनेजादले अनुमान गरेका छन्।
यो मात्रा इरानको दैनिक प्राकृतिक ग्यास खपतको तुलनामा भने निकै कम हो। नयाँ भण्डारमा हाइड्रोजन सल्फाइड नामक विषाक्त ग्यासको मात्रा निकै कम भएकाले यसलाई ‘स्वच्छ प्राकृतिक ग्यास’ का रूपमा व्याख्या गरिएको छ। यसले गर्दा सञ्चालन तथा विकास लागत कम हुने मन्त्री पाकनेजादको भनाइ छ।
ब्लुमबर्गका अनुसार उक्त क्षेत्रबाट ग्यासको व्यावसायिक उत्पादन सुरु हुन भने अझै केही वर्ष लाग्न सक्छ। फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि जारी युद्धका कारण इरानको ऊर्जा क्षेत्र प्रभावित हुँदै आएको छ। आक्रमणबाट ग्यास उत्पादन केन्द्र, तेल भण्डारणस्थल र ढुवानी मार्गमा क्षति पुगेको छ।
जुलाईमा इरानका एक वरिष्ठ सरकारी अधिकारीले युद्धका कारण घटेको दैनिक २३ करोड घनमिटर ग्यास उत्पादन क्षमता आगामी केही महिनाभित्र १० करोड घनमिटरसम्म पुनःस्थापित गरिने बताएका थिए। तेहरानले क्षतिग्रस्त संरचना मर्मत गरिरहे पनि अमेरिकी प्रतिबन्धले अर्थतन्त्रमा थप दबाब बढाउने देखिन्छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार पत्रकार सम्मेलन गरी इरानमाथि इतिहासकै कडा प्रतिबन्धको घोषणा गर्ने तयारी गरेका छन्।






















