बिश्व

रुसद्वारा युक्रेन युद्धमा थप तीन लाख सेना परिचालन हुनसक्ने जेलेन्स्कीको चेतावनी

एजेन्सी
२०८३ भदौ ८ | मध्यान्ह ०२:०५ बजे

कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा रुसले यसै वर्षको अन्त्यतिर थप कम्तीमा तीन लाख सेना परिचालन गर्न सक्ने चेतावनी दिएका छन्।

लामो समयदेखि पूर्वी भूभाग कब्जा गर्ने रणनीतिमा रहेको रुसले वर्षको सुरुवातमा नियन्त्रणमा लिएका क्षेत्रहरू वर्षको अन्त्यसम्म कायम राख्न चाहेको उनले बताएका हुन् ।

वर्षको सुरुदेखि रुसले २ लाख ६७ हजार सैनिक गुमाएको र जसमा करिब १ लाख ५५ हजार मारिएको जेलेन्स्कीको दाबी छ। रुसमा हुने संसदीय निर्वाचनलगत्तै थप सैन्य परिचालन हुनसक्ने उनले उल्लेख गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्र कब्जा पूरा गर्न आफ्ना जनरलहरूलाई निर्देशन दिँदै थप तीन लाख सैनिक परिचालन गर्न सक्ने जेलेन्स्कीको भनाइ छ।

डोनेत्स्कको करिब २० प्रतिशत भूभागमा युक्रेनी सेनाले बचाउ गरिरहेका छन्, जहाँ स्लाभियान्स्क र क्रामाटोर्स्क जस्ता रणनीतिक औद्योगिक सहरहरू पर्छन्। सम्पूर्ण डोनेत्स्क कब्जा गर्ने रुसी लक्ष्य पूरा हुन नसक्ने दाबी गर्दै जेलेन्स्कीले रुसले खार्किभ र सुमीजस्ता उत्तरी क्षेत्रमा पनि घुसपैठको प्रयास गर्न सक्ने बताए।

रुसी मिसाइल खसाउन प्रयोग गरिने प्याट्रियट इन्टरसेप्टरको अभावका कारण युक्रेनभर नागरिकको मृत्यु र पूर्वाधारमा क्षति बढेको छ। अमेरिकाले आफ्नो प्याट्रियट भण्डारको १० प्रतिशत उपलब्ध गराए युक्रेनले त्यसको मूल्य तिरेर रुसी क्षेप्यास्त्र ध्वस्त पार्ने जेलेन्स्कीले बताए। उनले युरोपबाट एस्टर हवाई रक्षा क्षेप्यास्त्र प्राप्त गर्न पनि उस्तै समस्या भइरहेको जानकारी दिए।

कमेन्टहरु