पशुपतिनाथमा विशेष पूजा सम्पन्न


काठमाडौँ, भदौ ८। पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।
चान्द्रमासअनुसार आज अन्तिम सोमबार हो । गत सोमबार करिब ३०० भक्तजनले विशेष पूजा गरेका थिए । भक्तजनले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।
सौरमास अनुसारका चार सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चार ढोका खुला गरिएको थियो । चान्द्रमास अनुसारको सोमबार के गर्ने भन्ने निर्णय नभएकाले बिहान ४ः०० बजे मात्र ढोका खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताउनुभयो ।
सौरमासअनुसार साउनका सोमबार जत्तिकै पशुपति क्षेत्रमा आज पनि भक्तजनको उपस्थिति रहेको छ । चाडपर्व चान्द्रमासअनुसार मनाइने भएकाले चान्द्रमास अनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति रहेको कोषले जनाएको छ ।






















